भीम रावलको प्रश्नः एमालेमा के हुन लाग्यो ?
धनगढीः नेकपा (एमाले) का नेता डा भीम रावलले पार्टीका मान्छेलाई टिकट नदिएर कमल थापालाई टिकट दिएर अनैतिकताको नमूना देखाएको टिप्पणी गरेका छन्। उनले सामाजिक संजालमा सर्वसम्मत रूपमा एकल सिफारिस हुँदा पनि केन्द्रले अन्ययपूर्ण किसिमले आफूलाई टिकट नदिएको तर अन्य व्यक्तिलाई टिकट दिएको गुनासो गर्दै एमालेमा के हुन लागेको भन्दै व्यंग्य गरेका छन्।
उनले पार्टीमा अनैतिकताको नमूना देखिन थालेको गुनासो गरे। उनले लेखेका छन्, ‘राजनीतिक अनैतिकताका दुई नमूनाः कमल थापाले आफु एमालेको सूर्य चिन्ह लिएर उम्मेदवार हुने तर आफ्ना पार्टीका अरु उम्मेदवारलाई तीर चिन्हमा लडाउने र उपेन्द्र यादवको जसपा गठबन्धन सरकारमा रहिरहने तर चुनावी तालमेल एमालेसंग गर्ने ! कमल थापालाई औंल्याएर निर्वाचन आयोगले एक व्यक्ति दुई पार्टीमा रहन नसक्ने भनी सार्वजनिकरुपमा प्रष्ट्याउनु पर्ने। यस्तैलाई एमालेले महत्वका साथ बोक्ने ! के हुन लाग्यो !’