सुदूर नेपाललाई विश्वसँग जोड्दै

युवालाई राजनीतिक नेतृत्वमा पुग्नै सकस

२०७९ असोज २७, ०४:०६ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिममा सक्रिय रुपमा राजनीति गर्ने युवाको जमात निकै ठुलो छ। विभिन्न पार्टीमा रहेर क्रियाशील राजनीति गर्ने युवा जमात वर्षेनि बढ्दै गएपनि नेतृत्वमा पुग्नेको संख्या नगण्य छ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ युवा उम्मेदवारको संख्या भने थप घटेको छ। प्रमुख राजनीतिक दलहरुले आकांक्षी युवालाई टिकटमा वञ्चित गर्दा २०७४ को संसदीय र गत स्थानीय निर्वाचनमा भन्दा कम युवाको उम्मेदवारी परेको हो। 

२०७४ को निर्वाचनमा ३४ प्रतिशत युवा उम्मेदवार थिए। पाँच महिनाअघि भएको स्थानीय तहको निर्वाचनमा ४१ प्रतिशत युवा थिए। आमनिर्वाचनमा युवा उम्मेदवारको संख्या विगतमाभन्दा कम भएपनि राजनीतिप्रति सचेतना र जागरण बढेको कतिपयको विश्लेषण छ।

 पुरानो पुस्तामा युवाको दबदबा बढेको तर उम्मेदवारी दिनेको संख्या अझै सन्तोषजनक नभएको राजनीतिक विश्लेषक सुरेन्द्र चन्द बताउँछन्। ‘युवाको क्षमता, लगानशिलता, इमान्दारीता र योगदानलाई हेरेर प्रमुख पार्टीहरुले नेतृत्व दिनुपर्नेमा अहिलेसम्म देखिँदैन’ उनले भने, ‘युवा भन्दैमा सबै युवालाई होइन की समाजमा गरेको योगदान र नेतृत्व हाँक्नसक्ने युवा शक्तिलाई शिर्षस्थ नेताले सधै उत्प्रेरणा र कदर गर्नुपर्नेमा भएको छैन।’

कानुनमा युवा कति प्रतिशत हुने भन्ने यकिन नभएसम्म युवाको संख्या बढ्ने देखिँदैन। दलहरूले युवालाई मार्ग प्रशस्त्र नगरेका कारण स्वतन्त्र उम्मेदवारी पर्ने गरेको छ। दलले विश्वास नगरेकै कारण युवा उम्मेदवार कम देखिएका छन्। युवा उम्मेदवार कम्तीमा ४० प्रतिशत हुनुपर्ने युवा राजनीतिज्ञको माग छ। 

नयाँ पुस्ता युवा प्रवेशले परिवर्तनमा आशा जगाउन सक्छ। तर युवालाई प्रमुख दलहरुले नै विश्वास नगरेको नेपाली काँग्रेसका युवा नेता लोकराज पाण्डे (आगो) ले बताए। ‘५१ प्रतिशत युवाले राजनीतिमा अवसर पाउनुपर्ने वकालत स्थानीय, जिल्ला, प्रदेश हुँदै केन्द्र स्तरका युवा नेताले गर्दै आएपनि टिकट दिने समयमा सधै झेल हुने गरेको अवस्था छ’ उनी भन्छन्, ‘अब हरेक पार्टीले आफ्नो प्रतिवद्धता पत्रमै युवा सहभागीताको विषय किटान गर्नुपर्छ।’ 

नेपालमा युवाको जनसंख्या ४० प्रतिशतभन्दा बढी छ। युवाको नेतृत्वलाई उत्साह र अपेक्षाका साथ हेर्ने गरिन्छ। राजनीतिमा यसको प्रभाव अझ व्यापक हुने गरेको छ। युवाप्रधान मुलुकमा युवालाई नेतृत्वको अवसरबाट वञ्चित गरिँदै आएको छ। राजनीतिको नेतृत्वमा पुरानो पुस्ताकै हालिमुहाली चलिरहँदा युवाले चाहेजस्तो मुलुक रूपान्तरण हुन सकेको छैन। समावेशी लोकतन्त्रको व्यवस्थाले राजनीतिमा युवालाई आकर्षणसँगै समतामूलक दायित्वको व्यवस्था गरेको छ। तर नेतृत्वमा पुर्‍याउने काम नेतृत्वपंक्तिबाटै हुन नसकेको राजनीतिक विश्लेषक चन्दको टिप्पणी छ।

हरेक राजनीतिक परिवर्तनमा युवा नै अग्रपंक्तिमा होमिन्छन्। युवा शक्तिको आन्दोलन, विद्रोह र अग्रगामी बलले परिवर्तन हुन्छ। नेतृत्वपंक्तिको बेवास्ताका कारण तिनै युवा अवसरबाट भने प्रायः वञ्चित हुँदै आएका छन्। 

राजनीतिको नेतृत्व तहमा अझै पनि युवालाई क्षमताको अविश्वास गरी वञ्चित गरिँदै आएको छ। यो प्रवृत्ति सबै राजनीतिक दलमा देखिएको छ। राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनका संवाहक भनिएका युवामा राजनीतिक नेतृत्व तहसँग असन्तुष्ट र वितृष्णा बढ्दो रुपमा देखिएको राजनीतिक विश्लेषक बताउँछन्।
 

कमेन्ट लोड गर्नुस