टिकट नपाएका भीम रावलको ओलीलाई १६ पृष्ठको आरोप (पूर्णपाठसहित)
काठमाडौं : नेकपा एमालेको टिकट नपाएपछि नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई १६ पृष्ठ लामो आरोप लगाएका छन्।
अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएर पनि टिकट नपाएका रावलले बिहीबार पत्रकार सम्मेलन गरी यस्तो आरोप सार्वजनिक गरेका हुन्। रावलले क्षेत्रीय कमिटी, जिल्ला र प्रदेश कमिटीले गरेको सर्वसम्मत निर्णय उल्ट्याएर ओलीले जनमत र पार्टीको अपमान गरेको निष्कर्ष निकालेका छन्।
रावलले भनेका छन् ‘मेरो नाम एकलरूपमा सिफारिस भएको थियो, तर म सँग कुनै परामर्श नगरी सिफारिस नै नभएको र पार्टीमा कुनै पनि योगदान नभएको व्यक्तिलाई टिकट दिइएको छ। यो निर्णय स्वेच्छाचारी, षड्यन्त्रमूलक र स्थानीय नेता कार्यकर्ताको घोर अपमान गर्ने खालको छ।’
आफूलाई टिकट नदिन सुरुवातबाटै षड्यन्त्र गरिएको जानकारी पाएको भन्दै रावलले त्यसकै लागि पहिले आफू चुनाव नलड्ने प्रचार गरिएको दाबी पनि गरेका छन्। ‘मैले चुनाव नलड्ने भनि पहिले नै प्रचार गरियो। तर, जिल्लामा भएको कार्यक्रममा चुनाव लड्न आफू तयार रहेको भन्दै मन्तव्य दिएपछि नयाँ प्रचार सुरु गरियो।’ रावलले भने. ‘चुनाव नलड्ने प्रचारको खन्डन भएपछि आफू सम्पर्कविहिन भएको भनेर प्रचार गरियो। त्यसपछि मैले जिल्लाको कार्यक्रममा व्यस्त रहेको र नियमित सम्पर्कमा रहेको बताए।’