कैलालीमा १५ सिटका लागि १२६ उम्मेदवार प्रतिस्पर्धामा
धनगढीः कैलालीमा प्रतिनिधिसभा सदस्यका पाँच र प्रदेशसभा सदस्यका १० निर्वाचन क्षेत्र छन्।
मंसिर ४ गते हुने निर्वाचनका लागि जिल्लामा एक सय २६ जना चुनावी मैदानमा होमिएका छन्। प्रदेशसभा सदस्यको १० सिटका लागि ७८ र प्रतिनिधिसभा सदस्यको ५ सिटका लागि ४८ जना उम्मेदवार चुनावी मैदानमा छन्। प्रतिनिधिसभा सदस्यका लागि कैलालीको क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका लक्ष्मण चौधरीको उम्मेदवारी भने रद्द भएको छ।
जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि ४९ जनाले मनोनयन दर्ता गरेकोमा ४८ जनाको अन्तिम नामावली प्रकाशन गरिएको छ। प्रदेशसभा सदस्यका लागि ७८ जनाको अन्तिम नामावली बुधबार प्रकाशन गरिएको हो। प्रदेशसभा सदस्यका लागि ९६ जनाको उम्मेदवारी दर्ता भएकोमा १८ जनाले फिर्ता लिएका छन्। १० प्रदेशसभा सदस्यका लागि ७८ उम्मेदवार चुनावी मैदानमा छन्।
कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यका लागि ११ उम्मेदवारले मनोनयन दर्ता गराएका थिए। नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार लक्ष्मण चौधरीको उम्मेदवारी रद्द भएको छ। कैलालीे क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यका लागि १० उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। उक्त निर्वाचन क्षेत्रमा पाँच उम्मेदवार स्वतन्त्र छन्। पाँच उम्मेदवारले मात्र राजनीतिक दलको प्रतिनिधित्व गरेका छन्। निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा ५ र क्षेत्र नम्बर २ मा ८ उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगले प्रकाशन गरेको छ।
कैलालीे निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका लागि १० जनाको अन्तिम नामावली प्रकाशन गरिएको छ। निर्वाचन क्षेत्र नम्बर ४ को १ मा ९ र ४ को २ मा ५ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ।
निर्वाचन आयोगको तथ्यांकअनुसार जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका लागि ८ उम्मेदवारको अन्तिम नामालवी प्रकाशन गरिएको हो। क्षेत्र नम्बर ३ को १ मा ६ र ३ को २ मा ९ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ।
जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि ९ जनाको उम्मेदवारी परेको छ। निर्वाचन क्षेत्र नम्बर २ को प्रदेससभा १ मा ७ र प्रदेशसभा २ मा ९ जनाको अन्तिम नामावली प्रकाशन गरिएको छ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका ११ उम्मेदवार चुनावी मैदानमा छन्। निर्वाचन क्षेत्र नम्बर १ को प्रदेससभा १ मा ९ र प्रदेशसभा २ मा ७ जनाको अन्तिम नामावली प्रकाशन गरिएको छ।
जिल्लामा पाँचवटा प्रतिनिधिसभा सदस्यको सिटका लागि ४८ जना मैदानमा छन्। प्रदेशसभा सदस्यका १० सिटका लागि ७८ जना चुनावी मैदानमा छन्। जिल्लामा विभिन्न दलका बागी तथा स्वतन्त्र उम्मेदवारका कारण निर्वाचन रोचक हुने देखिएको छ।