प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने, दिउँसो १ बजे शपथ
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो। नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजे हुने तय गरिएको छ।
सत्ता साझेदार दलको सोमबार राति सम्पन्न बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुला भएको हो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको गृहमन्त्री रवि लामिछानेले सञ्चारकर्मीलाई जानकारी दिए। उनले भागबण्डा टुंगिएसँगै मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको बताए।
उनका अनुसार मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको छ। जसपा, उन्मुक्ति, लोसपा लगायतका दललाई पनि सरकारमा सहभागी गराउने प्रयास भएपनि उनीहरुको माग सम्बोधन गर्नेबारे दलहरुबीच सहमति जुट्न नसकेको बुझिएको छ। शपथ पछि चार बजे सर्वदलीय बैठक बस्दैछ। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिएका दलहरूसँग छलफल गर्न लागेका हुन्।