प्रचण्डको ब्रिफिङः वर्तमान गठबन्धन टिकाउँदै राष्ट्रपतिमा राष्ट्रिय सहमति
काठमाडौँः प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्नु अहिलेको आवश्यकता भएको बताएका छन्।
आन्तरिक राजनीति र विगतको गल्ती कमजोरी दोहोरिन नदिनका लागि पनि राष्ट्रपति सर्वमान्य व्यक्ति हुनुपर्ने प्रचण्डको भनाइ छ। सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रका पदाधिकारी बैठकमा प्रचण्डले संसदमा देखिएको प्रतिनिधित्व र राजनीतिक दाउपेचले संसद् टिकाउन सकसपूर्ण देखिएको भन्दै यस्तो बेलामा समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने राष्ट्रपति आवश्यक हुने बताएका थिए।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै प्रचण्डले अहिलेको सत्ता गठबन्धनलाई टिकाउन आफू लागिपर्ने प्रचण्डको धारणा रहेको सचिव दिनानाथ शर्माले बताए। प्रचण्डले वर्तमान सत्ता गठबन्धनलाई टिकाउँदै राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउनतर्फ लाग्ने बैठकमा धारणा राखेको शर्माको भनाइ छ।
यस्तै बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता, कांग्रेसका नेताहरुसँगको छलफललगायतका विषयमा पनि प्रचण्डले ब्रिफिङ गरेका थिए। सो क्रममा उनीहरुले राष्ट्रपतिमा आफ्नो पार्टीले उठाउने उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका थिए। यहीबीचमा प्रचण्डले आजको बैठकमा राष्ट्रपतिमा राष्ट्रिय सहमतिमा जोड दिएका हुन् ।
बैठकले सोहीअनुसार सहमति जुटाउन जिम्मा प्रचण्डलाई सुम्पिने निर्णय समेत गरेको छ। राष्ट्रपति निर्वाचनको लागि आगामी फागुन १३ गते मनोनयन दर्ताको समय रहेको सन्दर्भमा दलहरुको सक्रियता बढेको छ। एमाले र कांग्रेसले राष्ट्रपति पद आफ्नो पक्षमा पार्न जुट्दै गर्दा माओवादी भने राष्ट्रिय सहमतिको पक्षमा उभिएको हो।