सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार

२०७९ फाल्गुन १०, ०६:१६ खबर संवाददाता

काठमाडौं: एलपी ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै  गइरहेको छ। उनलाई आजदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिने भएको छ। नेता भण्डारीको उपचार यही ४ फागुनदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ।

उनलाई मंगलबार राति पाँच लिटर अक्सिजनमा मात्र रिजर्भायर ब्याग मास्कमा राखिने उपचार समन्वयमा सँगै रहेका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिए। नेसनल बर्न सेन्टरका डा.सुनिल केशवानीले नेता भण्डारीलाई ‘ईटी ट्युब’मा अब राख्न नपर्ने र इन्फेक्सनको मात्रा पनी कम हुँदै गएको जानकारी दिए।

नेता भण्डारीको अनुहारमा नयाँ छाला उत्साहजनक रूपमा पलाएको तर हातहरूमा अलिअलि मात्र पलाएकाले एक साता अझै हेर्ने अनि मात्र आवश्यक भएमा हातको ग्राफ्टिङ गर्ने चिकित्सकले जनाएका छन्। उनलाई छिटो सुधार भइरहेकाले अबको चार दिनपछि आईबीसीयूू (इन्टेन्सिभ बर्न केयर युनिट) बाट बाहिर निकाल्न सकिने चिकित्सकले बताएका नेता कँडेलले जानकारी दिए।

यही ३ फागुन राति आफ्नो निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए। घटनालगत्तै दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो। आमा हरिकलाको भने उपचारका क्रममा ४ फागुन बिहान निधन भएको थियो ।

कमेन्ट लोड गर्नुस