सुदूर नेपाललाई विश्वसँग जोड्दै

युवा संघ कैलालीमा विवाद, गुट भेला गरेको आरोप

२०७९ फाल्गुन २२, ०३:२२ खबर संवाददाता

धनगढी : नेकपा एमालेनिकट राष्ट्रिय युवासंघ नेपाल कैलालीको कमिटीमा विवाद देखिएको छ। एमालेले देशैभर २ महिने पार्टी सुदृढीकरण तथा ग्रास रुट अभियान चलाइरहेका बेला जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालमा भने विवाद देखिएको हो। स्रोतका अनुसार राष्ट्रिय युवा संघ नेपाल कैलालीका संयोजक शिवचन्द सोडारीले चिसापानीमा गुट भेला राखेपछि विवाद सतहमा आएको हो।

संयोजक सोडारीले करिब १५-२० जनाको कैलालीको चिसापानीमा भेला गरेर जिल्ला सम्मेलनको नाम दिँदै संगठनका केही कार्यकर्ता र पार्टीका जिल्ला कमिटीका केही अगुवा नेताहरु मात्रै सहभागी थिए।उक्त भेलाले विधानविपरीत जिल्लाका पदाधिकारी र सदस्यहरू एकलौटी रुपमा नियुक्त गरेको असन्तुष्ट पक्षले बताएको छ।

राष्ट्रिय युवा संघ नेपालका जिल्लाका आधाभन्दा बढी सदस्य तथा संगठनमा आबद्ध नेता तथा कार्यकर्ताहरुले भने संगठन र पार्टीको विधि विधानविपरीत बैठक तथा गुट भेलाहरु गरेर संगठनका मूल्य मान्यता कुल्चिने काम भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

संगठनका अधिकांश युवा नेता तथा कार्यकर्ताले चिसापानीमा गरिएको गुट भेलाको विरोध गरेका छन्। सो गुट भेलाबारे पार्टी र राष्ट्रिय युवा संघको शीर्ष तहलाई ध्यानाकर्षण गराउने बताइएको छ।

यस्तै, व्यक्तिवादी चिन्तन भएका नेकपा एमाले कैलालीका पदाधिकारी नै गुटगत कार्यक्रममा सहभागी भएकाले यस विषयमा पनि युवाहरूले खबरदारी गराउने जनाएका छन्।

संगठनमा अराजकता नल्याउन आग्रह गर्दै नेता तथा कार्यकर्ताहरुले असन्तुष्टि व्यक्त गरेका छन्। यस्तै, संगठनका सुदूरपश्चिम इन्चार्ज, सहइन्चार्ज, संयोजक र सह संयोजक भने उक्त बैठकबारे अनभिज्ञ छन्। त्यस्ता गतिविधि गर्नेहरूलाई कारबाही हुने समेत उनीहरूको भनाइ छ।

तर, युवा संघ कैलालीका संयोजक शिवचन्द सोडारीले भने नीतिगत रुपमै बहुमत सदस्यको निर्णयबाट काम भएको दाबी गरेका छन्। उनले युवा संघको विधान र नीतिअनुसार नै भेला आयोजना गरिएको भए पनि केही साथीले विरोध गरेको जानकारीमा रहेको बताएका छन्। युवा संघ कैलालीमा कुनै विवाद र समस्या नरहेको सोडारीले बताए।

कमेन्ट लोड गर्नुस