समाजवादी र एमालेनेतालाई एकै ठाउँमा राखि भीम रावलले गरे अन्तरक्रिया
कञ्चनपुरः कञ्चनपुरमा नेकपा एमाले नेता भीमबहादुर रावलले एक कार्यक्रममा एमालेका र एकीकृत समाजवादीका नेताहरुसँग संयृक्त बैठक गरेका छन्।
जिल्लाको महेन्द्रनगरमा नेकपा एकीकृत समाजवादी (एस) र नेकपा एमालेका नेताहरुलाई एक ठाउँमा राखेर अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्। आइतबार आफूनिकट केही एमाले नेता कार्यकर्ता एवं नेकपा एसपार्टीका नेता–कार्यकर्तासँग समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन्।
महेन्द्रनगरमा आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा कञ्चनपुर सहइन्चार्ज प्रकाशबहादुर रावल, एमाले नेता नरबहादुर विश्वकर्मा, भोजराज जोशी, मोहन रावलसहितका एमाले नेता–कार्यकर्ताको उपस्थितिमा अन्तरक्रिया भएको नेताहरूले बताएका छन्।
उक्त कार्यक्रम कुनै पार्टीको आयोजनामा नभई नेता रावलको आयोजनामा समसामयिक राजनीतिक विषयमा छलफल गर्न खोजेको सहभागीहरूले बताएका छन्। एक सहभागिताले यो कुनै गुट, उपगुटको भेला नभई अहिलेका एमाले नेता–कार्यकर्ता एवं पूर्वका एमाले नेता–कार्यकर्तासँग सामान्य भेटघाट मात्रै भएको बताए।
कार्यक्रमको सम्बोधन गर्दै एमाले नेता रावलले संविधान प्रभावकारी कार्यान्वयन भएको बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै रावलले संविधान पटक–पटक मिच्दा मुलुकले यस्तो दुर्दशा खेप्नुपरेको बताए।