सुदूर नेपाललाई विश्वसँग जोड्दै

दासत्वबाट मुक्ति (द्वितीय प्रकरण)

२०८० वैशाख ११, ०२:५५

नारायणप्रसाद अवस्थीः अकिञ्चन जी महाराज की जय! नेपालमण्डल भयंकर कलिकालको ग्रासमा परिरहेको छ। दया महाराज! दया!! (लटपटकुमारको बिन्ती नसकिँदै महाराज श्रीको कक्षमा दोस्रो मनुवाको प्रवेश हुन्छ)

शिष्यको अनुमतिमा दोस्रो मनुवा आफ्नो हैसियत समर्पण गर्दै भन्न थाल्छ। 'महाराज मेरो नाम उस्कटलाल हो। जो कोहीले पनि मलाई सजिलै उस्काउन सक्ने भएकाले मेरो यस्तो नाम रहन गएको हो। मेरो जन्म भेदभावनगरमा भएको हो। बाँकी कुरा ठिकै जस्तो भए पनि मेरो गाउँमा मानिस-मानिसका बिचमा अनेक नामबाट भेदभाव गरिन्थे। यो असहजताबाट मुक्तिका लागि सानैबाट म समाजवादमा जान चाहन्थे।

मेरो सोच र खोज 'जबज' को आविस्कारसँगै निष्कर्षमा पुग्यो, मैले आफ्नो समाजवाद उन्मुख यात्रा मदन मार्गबाट 'जबज' सम्मका लागि एक्लै सुरु गरे। मार्ग केही भिरालो भएता पनि गन्तव्यको कल्पनामा सहज रुपमा पार गर्दै गए। बिच बाटोमा पुग्दा मेरो भेट एक हुल मानिसहरुसँग भयो। जसको नेतृत्व लेपिबाले गरेका थिए। मदनमार्गमा हिड्नु छ भने लेपिबालाई 'बा' मान्न तयार हुनुपर्ने धम्कीपूर्ण दबाबबाट प्रभावित नभएको देखेपछि मसँग उनीहरूका 'बा' ले आफैले भेट गरे। अनेक क्रान्तिकारी आग्रहहरु सुनाउँदै उनी मेरो 'बा' बन्न सफल भए। यात्राकै क्रममा मलाई थाहा भयो कि उनले बेला बेलामा होली वाइन आफू पनि पिउने र अरुलाई पनि ले पि भन्ने भएका कारण उनको नाम लेपि रहन गएको रहेछ। उनको जुसुकै कदमको पनि स्वागत गर्नु पर्ने वाध्यताका कारण उनलाई 'बा' भनिने रहेछ।

'जबज' सम्म पुग्ने तमाम सहज मार्गहरु लत्याएर भिरालो मार्ग चुन्नुको कारण भने रोचक रहेछ। त्यहाँ कोलाहल बिच कसैले चर्को स्वरमा लेपिबा विरुद्ध आवाज उठाउन खोजे भिरबाट खसालिने रहेछ। मैले त्यो सम्पूर्ण जमातको बारेमा धेरै कुरा बुझ्दा नबुझ्दै निकै जना सत्याग्रहीहरुलाई फेरि भेट नहुने गरी लडाइँ सकिएको थियो।

मार्ग त्यहीँ जस्तो लागुन्जेल म पनि सहयात्री नै थिएँ। किनकि, मलाई कसैको 'बा' बन्नु थिएन। केबल 'जबज' मा पुग्नु थियो। तर केही पर पुग्दा यहाँ बसेका लटपटकुमार जीसँग भेट हुन पुग्यो। उनका अनुसार विपिमार्गीहरु पनि त्यहीँ बाटो लागेका थिए। जुन बाटो मदनमार्गीहरु लागे। बाटो बिराएको निश्चित भइसके पश्चात मैले एकछिन विश्राम गर्दै सही बाटोमा यात्रा पुनः सुरु गर्ने सोचका साथ लेपिबाको दासत्वबाट मुक्त भएको घोषणा गरेँ। 
अकिञ्चन जी महाराज की जय! भयंकर धोका भयो महाराज!! रक्षा महाराज!! रक्षा!! (उस्कटलाललाई बिचमा रोक्दै नयाँ मनुवाको प्रवेश) .... क्रमशः.......

कमेन्ट लोड गर्नुस