लामिछाने र वाग्लेले आज शपथ लिँदै
काठमाडौः उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवनिर्वाचित सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेले आज सांसद पदको शपथ लिने भएका छन्।
बारा–२ बाट निर्वाचित जसपाका उपेन्द्र यादव भने बारामै रहेकाले आज उनको शपथ ग्रहण नहुने भएको छ। लामिछाने र वाग्लेको बिहान साढे ११ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा शपथ ग्रहण गर्ने सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए।
वैशाख १० गतेको उपनिर्वानमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने पाँच महिनापछि सोही क्षेत्रमा भएको उपनिर्वाचनमा अझ धेरै मतान्तरले विजयी भएका छन् । नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशपछि उनको सासंद पद खारेज भएको थियो ।
पछि प्रक्रिया पुर्याएर पुनः नागरिकता कायम गरेपछि लामिछाने नै उम्मेदवार बनेका हुन्। उनी ५४ हजार १ सय ७६ मतसहित विजयी भएका थिए। यस्तै तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ३४ हजार ९ सय १९ मतसहित निर्वाचित भएका थिए ।