दर्शकले चाहे स्वतन्त्र रुपमा राजनीति गर्छूः राजेश हमाल
धनगढीः महानायक राजेश हमालले सक्रिय राजनीतिमा लाग्ने विषय ‘पर्ख र हेर’मै रहेको बताएका छन्।
आइतबार एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले अहिले चुनाव जितेर आएका व्यक्तिलाई पनि यही कुरा लागू हुने बताए। ‘यदि अहिलेको राजनीति जुन हिसाबले चल्नुपर्ने हो, त्यसरी ठीक ढंगले चलेन भने म राजनीतिमा आउन सक्छु,’ उनले भने। आफूलाई हालैको चुनावमा उम्मेदवार बन्न दलहरुले प्रस्ताव राखेको खुलाउँदै हमालले अहिले उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुलाई पनि पर्ख र हेरको रुपमा आफूले लिएको बताए।
उनले रास्वपा सभापति रवि लामिछानेलाई जनताको चाहनाअनुसार चल्न पनि सुझाव दिए। ‘डेलिभरी’ हुने जनअपेक्षाका कारण नयाँ दल उदाएको हमालको तर्क छ। ‘बाहिरबाट हेर्दा जनताले व्यक्तिलाई चाहेजस्तो देखिन्छ तर त्यसो होइन। व्यक्ति नेताको भाषण सुन्न जाने होइन। व्यक्तिको मुखबाट हाम्रो कुरा सुन्न आउँछ कि आउँदैन भनेर हो,’ उनले भने।
‘जनताले मलाई हेर्न होइन, मरुपी राजेश हमालबाट अपेक्षा गरेको मनोरञ्जन निस्कन्छ कि भनेर हो। उनले भने, ‘जनताले व्यक्तिलाई होइन, उक्त व्यक्तिबाट आफ्ना कुरा सम्बोधन हुन्छ कि हुँदैन भनेर हो।’ हरेक कालखण्डमा नयाँ दल आउने र जाने भइरहेको उदाहरण प्रस्तुत गर्दै उनले समयसापेक्ष रुपमा सान्दर्भिक हुने मात्र टिक्न सक्ने बताए। उनले भने, ‘राजनीति अटोपाइलटमा हुनुपर्छ, म्यानुअलमा होइन।’
राजनीतिमा लागे,उनले कुनै दलमा आबद्ध नभई स्वतन्त्र रुपमा राजनीति गर्ने बताए। ‘दर्शकले चाहनुभयो भने सक्रिय राजनीतिमा आउँछु,’ उनले भने, ‘गरें भने स्वतन्त्र रुपमा राजनीति गर्छु।’