ममाथिको हमलामा ज्ञानेन्द्र शाहको संलग्नता देखियोः ओली
धनगढीः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक कार्यक्रममा सहभागी हुने क्रममा केही दिन पहिले झापामा आफुमाथी भएको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारको संलग्ता रहेको आरोप लगाएका छन्।
पूर्वदरबारियाहरूले मान्छे पठाएर आफ्नो विरोध गर्न लगाएको ओलीको भनाइ छ। अखिल नेपाल किसान महासंघले आइतबार आयोजना गरेको कार्यक्रममा ओलीले आफूमाथि निरन्तर आक्रमणको प्रयास भए पनि सरकार मूकदर्शक बनेको पनि गुनासो गरेका छन्। पूर्वी नेपालका विभिन्न जिल्लामा आफूमाथिको आक्रमण प्रयासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारको संलग्नता रहेको जिकीर गर्दै त्यस्ता उदण्ड, अराजनीतिक खालको गतिविधिलाई नियन्त्रण गर्नुको साटो सत्तारुढ दलकै कार्यकर्ताहरूले ढुंगामुढा गरेको पनि ओलीले बताए।
त्यस्ता गतिविधि रोक्नमा सरकार असफल भएको पनि ओलीको भनाइ थियो। कार्यक्रममा सहभागी हुन जाने क्रममा निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, काँही ढुंगा हान्ने, काँही भिडन्त गर्न आउने काम हुँदा पनि सरकारले ती गतिविधि नियन्त्रण नगरेको भन्दै ओलीले आक्रोस व्यक्त गरे।