सुदूरपश्चिमलाई विशेष प्राथमिकता दिएर सहयोग गर्न तयार छौं: अर्थमन्त्री महत
धनगढीः सुदूरपश्चिमलाई विशेष प्राथमिकता दिएर सहयोग गर्न तयार रहेको अर्थमन्त्री डा. प्रकाश शरण महतले बताएका छन्।
सुदूरपश्चिम प्रदेशको आर्थिक प्याकेज नघटाउन मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा गएको टोलीलाई उनले आज (मंगलवार) यस्तो बताएका हुन्। भेटघाट तथा छलफलका क्रममा अर्थमन्त्रीले सुदूरपश्चिमलाई विशेष प्राथमिकताका साथ केन्द्र सरकार सहयोग गर्न तयार रहेको समेत जनाएका छन्।
संघीय सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा रहँदा सुदूरपश्चिम प्रदेशको आर्थिक प्याकेज नघटाउनका लागि आग्रह गर्न उक्त टोली सोमवार काठमाडौं पुगेको हो। सुदूरपश्चिमका मुख्यमन्त्री, मन्त्री, सभामुख र प्रतिपक्षी दलका नेताहरु प्रदेशको आर्थिक प्याकेज नघटाउन र यस प्रदेशमा महत्वपूर्ण गौरवका योजनाको माग गर्नका लागि अर्थमन्त्रीसँग मंगलवार छलफल गरेका छन्।