कमल थापा नेतृत्वको राप्रपा नेपालले गर्यो प्रदेश इकाई विघटन
धनगढीः कमल थापा नेतृत्वको राप्रपा नेपालले प्रदेश तह खारेज गर्न माग गरेको छ।
पार्टीको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरुको संयुक्त विस्तारित बैठकले उक्त निर्णय गरेको महामन्त्री राजाराम बर्तौलाले बताए। प्रदेश भ्रष्टाचारको अखडा भएको उल्लेख गर्दै राप्रपा नेपालले दुई तहको सरकार निर्माणमा जोड दिएको छ।
’संघीय संरचना अन्तर्गतको प्रदेश तह आर्थिकरुपमा बोझिलो तथा अनेकौ राजनीतिक विकृति र विसंगतिको कार्यथलो सावित भएको तथा राजनीतिक अस्थिरता र भ्रष्टाचारको अखडा भएको हुँदा राज्य संरचनाको वर्तमान स्वरुपलाई परिवर्तन गरी केन्द्रमा बलियो सरकार र स्थानीयतहमा अहिलेको भन्दा पनि बढि अधिकार सम्पन्न सुदृढ स्थानीय स्वायत्त सरकार गरी दुई तहको संरचना वा सरकार कायम गरिनुपर्छ भन्ने राप्रपा नेपालको धारणा रहेको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ’प्रदेश तहको सभा र सरकार सम्बन्धि वर्तमान व्यवस्था खारेज गर्न राप्रपा नेपाल माग गर्दछ।’
यो निर्णयसँगै राप्रपा नेपालले आफ्नो पार्टीको प्रदेश तहका सबै ईकाईहरु विघटन गरेको छ। ’प्रदेश तहको संरचना खारेज हुनपर्छ भन्ने पार्टीको दृढ मान्यता भएको कारण राप्रपा नेपालको पार्टी अन्तर्गतका प्रदेशतहको सबै ईकाईहरु विघटन गर्ने बैठक निर्णय गर्दछ,’ राप्रपा नेपालले भनेको छ।