सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपतिद्धारा नागरिकता विधेयक प्रमाणीकरण

२०८० जेठ १८, ०६:०९ खबर संवाददाता

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। बुधवर बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले बताए। यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण रोकेकी थिइन्।

संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो। तर भण्डारीले विधेयकमा असहमति जनाउँदै ८ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता पठाएकी थिइन्। दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर भदौ २० मा राष्ट्रपति भण्डारी समक्ष पठाएको थियो।  

१५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि उनले थन्क्याएकी थिइन्। फागुन २५ मा राष्ट्रपति बनेका पौडेलले ३ महिनापछि सरकारको अनुरोधमा नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई नागरिकता विधेयक प्रमाणीकरण गर्न अनुरोध गरेको थियो।

कमेन्ट लोड गर्नुस