डडेल्धुराकाे भागेश्वर–२ मा लाटादेवता मन्दिर निर्माण, सहयोग अभियानमा जुट्यो साढे ४ लाख
डडेल्धुराः डडेल्धुराकाे भागेश्वर गाउँपालिका वडा नं. २, लाटामाडौँमा लाटादेवता मन्दिर निर्माण भएको छ।
अभियानकर्मी सिद्धराज पनेरु र दिलबहादुर मडैले सञ्चालन गरेको मन्दिर निर्माण सहयोग अभियानबाट संकलित रकमबाट मन्दिरको निर्माण गरिएकाे हो।
साउन १४ गतेबाट सुरु गरेको आर्थिक सहयोग (दान) संकलन अभियानमा असोज ६ गतेसम्म २०६ जना दाताहरूबाट ४ लाख ६१ हजार ३ सय ३५ रुपैयाँ संकलन भइसकेको अभियानकर्मी सिद्धराज पनेरुले जानकारी दिएका छन्।
साउन २८ गते वैदिक विधिपूर्वक शिलान्यास गरि असोज ३ गते प्रतिस्ठा सम्पन्न भएको छ। यससँगै मन्दिर परिसरमा स्वागतद्वार (गेट) र शौचालय निर्माणको कार्य चलिरहेको बताइएको छ।
कार्तिक नवरात्रीको अष्टमी तिथीमा ताटादेवताको जाँत हुने र सोही दिन सम्पूर्ण आयव्यय सार्वजनिक गरिने र दान दाताको ब्यानरमा राखिने नामावलीलाई मन्दिर परिसरमा राखिने अभियानकर्मी मडैले बताएका छन्। साथै, शिलालेखमा दान दाताको नाम शिलालेखमा पनि लेखिने उनले बताए।
अभियानकर्मीद्वय पनेरु र मडैले सम्पूर्ण दान दाताहरूलाई धन्यवाद व्यक्त गर्दै अन्य इच्छुक दाताहरुले अस्टमीभन्दा अगाडी नै सहयोग गरिदिन अपिल गरेका छन्।
सामाजिक सञ्जालमार्फत सञ्चालन भइरहेको यस अभियानको रकम संकलन असिग्राम मावि, रुपालका सेवानिवृत्त शिक्षक तथा असिग्राम मन्दिर, रुपालका भँडारी दिलबहादुर मडैको माछापुच्छ्रे बैंकमा रहेको खाता नम्बर ०९३००९१३२४६०००११ र सोही खाताको (क्यूआर) कोडमार्फत भइरहेको छ। मन्दिर निर्माणमा ७ देखि ८ लाख लगानी लाग्ने अनुमान गरिएको छ।
मन्दिर निर्माणमा सहयोग गर्ने दाताहरूको रकमका आधारमा १०१ देखि १००० सम्म रजिस्ट्रारमा नाम अभिलेख राखिने, १००१ देखि ५००० सम्म मन्दिर परिसरमा राखिने 'दाता नामावली ब्यानर'मा नाम समावेश गरिने र ५००१ भन्दा माथि मन्दिर परिसरमा राखिने शिलालेखमा नाम लेखिने अभियान्ता पनेरुले बताएका छन्।
पनेरु यसअघि पनि विभिन्न सामाजिक र धार्मिक कार्यहरूमा सक्रिय रहँदै आएका छन्। उनले डडेल्धुराको भागेश्वर २ रुपालमा रहेको अशिग्राम माविका लागि साउण्ड सिस्टम खरिद अभियान, वडा नम्बर २ कै अशिग्राम मन्दिरका लागि आवश्यक सामाग्री खरिद अभियान, खिटकेश्वर मन्दिरमा बसाहा (नन्दी) स्थापना अभियान र कैलपाल मन्दिर परशुराम ३ थापलाका लागि आवश्यक सामाग्री सहयोग अभियान सञ्चालन गरेका थिए।