सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय वन कर्मचारीले कैलालीका सीमावर्ती गाउँका स्थानीयलाई यसरी सताउँछ्न्

२०८२ पुष ५, ०५:४३ नारायण अवस्थी

धनगढी: मंसिर ३ गते शुक्रवार धनगढी-१९ का ५० वर्षीय जोगबहादुर  खड्का गाई किन्ने भन्दै भारतको सीमावर्ती भट्ठा गाउँ जाने योजना बनाउँछन्। उनी धनगढी-१९  आई गाउँका ४६ वर्षीय दिलबहादुर रोकाया ६० वर्षीय रामबहादुर खातीलाई सय लगेर गाई खरिद गर्न भारतीय गाउँतर्फ लाग्छन्।

घरबाट बिहान १० बजे निस्केका उनीहरू बिहान एघार बजे सोनाहा एसएसबी चौकी नजिक पुग्छन्। सडकमा हिँडिरहेका बेला तीनै जनालाई भारतीय  वन विभागको कर्मचारी आएर रोक्छ्न्। ती वन कर्मचारीले यो सडक किन हिँडेको भन्दै तीनै जना नेपाली नागरिकलाई त्यो सोनाहा गाउँबाट अगाडि जानै दिएनन्।

यति मात्रै होइन वनको ती कर्मचारी एक घण्टासम्म तीनै जनासँग केरकार, गालीगलौज गर्दै रोडमै बस्न लगाउँछन्। 'गाई खरिद गरेर ल्याउने भनेर गएका हामी तीनै जनालाई वनको बाटोमा किन हिँडेको भनेर एक घण्टा रोडमा बसाल्यो, त्यसपछि वन चौकीमा लग्यो,' जोगराजले भने, 'हामीलाई एसएसबी चौकी नजिकैबाट वनको कर्मचारी अगाडि जान दिएन। एक घण्टा रोडमा बसालेर त्यसपछि गाडीमा हालेर हालेर वनको अफिसमा लग्यो।'

घटनामा परेका दिलबहादुर रोकायाले भने, सुरुमै हेपेर गाली गर्‍यो। हामीलाई तस्करी गर्न आएको, बाघ भालु मार्न आएको भन्दै हकार्न थाल्यो,' उनले भने, 'हामी गाई किन्न जाँदै थियौँ। हाम्रो हातमा कुनै औजार पनि थिएन।'

लामो समयसम्म रोडमा बसालेर हप्काएको वन कर्मचारीले पैसा दिए छोड्ने नत्र वन सम्बन्धी मुद्दा लगाउने धम्की दिएको जोगराजले बताए। 'सुरूमा तीन लाख दिन भन्यो, पछि एक लाख दिन भन्यो।  एक लाख तिर्ने कागज बनाएपछि मात्रै पैसा खोजेर ल्याऊ भनेर हामी दुई जनालाई आउन दियो,' उनले भने, 'हामीसँग गएका खाती जी,भलमान्सा राजु चौधरी र अर्का उपाध्याय जीलाई वन कार्यालयमै जमानतमा राखियो।'

गाई खोज्न हिँडेका तीनै जना भारतीय वन कर्मचारीको नियन्त्रणमा परेको ती वन कर्मचारी आफैले आई गाउँका भलमान्सा राजु चौधरीलाई जानकारी गराएका थिए। त्यसपछि मात्रै भलमान्सा र स्थानीयले थाहा पाएर उक्त ठाउँमा पुगेको जोगबहादुरले बताए।

तीनै जनालाई साढे सात घण्टा नियन्त्रणमा 
बिहान एघार बजेदेखि  वन कर्मचारीको नियन्त्रणमा परेका तीनै जना नेपालीलाई पचास हजार बुझाएपछि मात्रै साँझ ६:३० मा छोडिएको  जोगबहादुरले बताए।उनले एक लाख दिनुपर्ने कागजमा जबर्जस्ती सही गर्न लगाएकाले गाउँमा आएर छिमेकीहरूसँग सापटी मागेर ५० हजार मात्रै जम्मा गर्न सकिएको र उक्त रकम भारती वन कर्मचारीलाई वनको चौकीमा नै पुगेर बुझाएको बताए। त्यसपछि अर्को दिन थप ५० हजार बुझाउने सर्तमा तीनै जना मुक्त भएको दिलबहादुर रोकायाले बताए।

सीमावर्ती गाउँमा भारती वन कर्मचारीको ज्यादती धनगढी र कैलारी गाउँपालिकाको सीमावर्ती गाउँका स्थानीयलाई भारतीय वन कर्मचारी दैनिक रूपमा सताउने गरेको स्थानीयले बताएका छन्। स्थानीय धनबहादुर ऐडीले वन कर्मचारीले धम्क्याउने, पैसा असुली गर्ने, मोहना नदीको वारि नै आएर मान्छे नियन्त्रणमा लिने, उनीहरूलाई वन मुद्दा लगाउने धम्की दिने र रकम असुल्ने गरेको बताए। उनले भने, 'यताकाले उताकै वनमा जानुपर्छ, घाँस दाउरा ल्याउन र गाई भैंसी चराउन त्यसपछि उनीहरूले जे भन्यो त्यो मान्नुपर्छ। मानेन भने रकम असुल्ने, पक्राउ गर्ने जस्ता ज्यादती भोग्नुपर्छ।'

मंसिर ३ गते भारतीय वन कर्मचारीको नियन्त्रणमा परेका जोगबहादुर र दिलबहादुर लगायतका स्थानीयले एसएसबीले कुनै किसिमको दु:ख नदिएको तर भारतीय वन कर्मचारीहरूले भने निहुँ खोजेर दु:ख दिने गरेको बताए। सुडा तथा चन्दन चौकी बजारमा किनमेल गर्न जाँदासमेत बाटोमा हिँडेको आरोप लगाएर पैसा असुल्ने र नदिए वन मुद्दा लगाउने गरेको उनीहरूले बताए।

यसरी गर्छन् वन कर्मचारीले आर्थिक शोषण 
धनगढी-१८ र १९ नम्बर वडा सहित कैलारी गाउँपालिकाका स्थानीय भारतीय सीमावर्ती बजार चन्दनचौकी र सुडामा किनमेल गर्न जान्छन्। उनीहरू दैनिक उपभोग्य वस्तु किन्न मात्रै होइन गाई भैंसी किन्न समेत भारती सीमावर्ती गाउँमा जाने गर्छन्। त्यहाँ दुई हजारमा राम्रै गाई पाइने लोभले जोगबहादुर बुधबार आफ्ना दुई जना साथीसमेत लगेर भट्ठा गाउँमा जान लाग्दा भारतीय वन कर्मचारीको फेला परेका हुन्।

धनगढी-१८ र वडा नम्बर १९ को खेदा, फूलबारी, बहुलिया, पुरैना, लल्लीपुर, जे गाउँ, रप्टौना र कैलारी गाउँपालिकाका सीमावर्ती क्षेत्रमा नेपाली भूमिमै आएर भारतीय वन कर्मचारीले सताउने गरेको स्थानीय धनबहादुर ऐडीले बताए। 'एसएसबीले दु:ख दिँदैन तर वनका कर्मचारीले अनेक कुरामा दु:ख दिने गरेको छ। चन्दन चौकी, सोनाहा र सुडा किनमेल गर्न जाँदा उनीहरूले ज्यादती गर्ने गरेका छ,' ऐडीले भने।

भारतीय वन कर्मचारीले नेपालीबाट प्रतिपरिवार ६४० रुपैयाँका दरले रकम असुल्ने गरेको समेत स्थानीयले बताएका छन्। जसका लागि वन कर्मचारीले यताका भलमान्साहरूलाई परिचालन गर्ने गर्छन्। भलमान्साहरूले हरेक घरधुरीबाट रकम संकलन गरेर उनीहरूको हातमा बुझाउने गरेका छन्। यो क्रम वर्षौदेखि चलिरहेको स्थानीयले बताए।

यति मात्रै होइन मोहना पारि भारतको जङ्गलमा गाई र भैंसी चराउनका लागि प्रति गोटा जनावरको वार्षिक पाँच सय रुपैयाँ बुझाउनुपर्छ। यतिले मात्रै नपुगेर हरेक वर्ष हरेक घरबाट एक जनाका दरले मान्छे गएर वर्षमा तीन दिन वन क्षेत्रमा श्रमदान गर्नुपर्ने अघोषित नियम बनाइएको छ। रकम नदिने र श्रमदान गर्न नजानेले मोहना पारिको जङ्गलमा घाँसपात गर्न र गाईवस्तु चराउन पाउँदैनन्।

सशस्त्र प्रहरीले गर्‍यो तीनै जनाको रिहाईको पहल
एसएसबीको समेत भनेको नमान्ने गरेका भारतीय वन कर्मचारीहरूले नेपालीहरूलाई धम्काउने, विभिन्न समयमा मान्छे समातेर मोटो रकम असुल्ने घटना सामान्य भएको स्थानीयले बताए। यो पटकको घटना मात्रै सार्वजनिक भएको तर बारम्बार यस्ता घटना हुने गरेको उनीहरूको दाबी छ।

बिहीबारको घटनामा भने बिओपी लल्लीपुरका सशस्त्र प्रहरी नायब निरीक्षक भुवन बिक आफैले गएर तीन जनालाई छुटाएर ल्याएका हुन्। बिकले उनीहरू विरुद्ध  मुद्दा नचलाएको र नेपाली नागरिकले पनि कुनै गलत काम नगरेको बताए।

उनले भने, 'सुरूमा पैसा खान खोजेको रहेछन्, त्यसपछि हल्ला फैलिएपछि जङ्गलमा पसेर जडिबुटी उखेल्न लागेको भन्दै कागज गराएर छोडेको भन्ने एसएसबीले बतायो,' उनले भने, 'तर वनको कर्मचारी जसले नियन्त्रणमा लिएको थियो उनी एसएसबी चौकीमा बोलाउँदा पनि आएनन्। घटना बारे थाहा हुनासाथ हामी गएर एसएसबीसँग समन्वय गरेर उहाँहरूलाई लिएर आएका हौँ। वनको कर्मचारीलाई एसएसबीको पोष्टमा बोलाउँदासमेत आएनन्।'

मंसिर ३ गते घटेको घटना प्रतिनिधि घटना मात्रै भएको तर वन कर्मचारीले विभिन्न समयमा ज्यादती गर्ने गरेको गुनासो गरिएको छ। भारतीय वन विभागका तल्लो श्रेणीका वन कर्मचारीले निहुँ खोजेर दुःख दिने, गाली गलौज गर्ने, वन मुद्दा लगाउने धम्की दिने मात्रै होइन लाखौ रकमसमेत असुल्ने गरेको गुनासो सर्वसाधारणले गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस