नेकपा कञ्चनपुर–२ बाट युवा नेता माधव पन्त प्रतिनिधिसभा सदस्यका लागि सिफारिस
धनगढीः नेपाल कम्युनिस्ट पार्टीले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट युवा नेता माधव पन्तलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीले पन्तको नाम सिफारिस गरेको हो।
पन्तसँगै नवयुवा पुस्ताबाट तोयराज जोशी, महिलाबाट दुर्गा भट्ट (जोशी) सहित पूर्वमन्त्री तथा सांसदहरू पनि सिफारिस सूचीमा परेका छन्। सुदूरपश्चिम प्रदेशका पूर्वसांसद महेशदत्त जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, पूर्वसांसद एवं संविधानसभा सदस्य हरिश ठकुल्ला (कमल क्षेत्री)लाई पनि नेकपाले क्षेत्र २ बाट सिफारिस गरेको छ।
हाल त्रिभुवन विश्वविद्यालयबाट कूटनीतिक इतिहासमा विद्यावारिधि (पिएचडी) अध्ययनरत पन्तले अंग्रेजी विषयमा एमफिल, राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुन विषयमा एलएलबी उपाधि हासिल गरेका छन्। २४ वर्षदेखि राजनीतिमा सक्रिय उनी २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा शुक्लाफाँटा नगरपालिकाको उपमेयर पदका उम्मेदवार थिए।
पन्तले २०५९ सालमा कक्षा १० मा अध्ययनरत रहँदा कृष्ण माध्यमिक विद्यालयबाट अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्षको जिम्मेवारी सम्हाल्दै राजनीतिक यात्रा सुरु गरेका थिए। २०६२ मा सिद्धनाथ बहुमुखी क्याम्पसमा स्ववियु उपसभापति निर्वाचित भएका उनी २०६४ मा स्ववियु सभापतिका उम्मेदवार बने। त्यसपछि २०६५ मा अनेरास्ववियु जिल्ला अध्यक्ष (कञ्चनपुर) हुँदै त्रिभुवन विश्वविद्यालयमा अनेरास्ववियुको नेतृत्व तथा केन्द्रीय कमिटी उपाध्यक्षसम्मको जिम्मेवारी सम्हाल्दै निरन्तर विद्यार्थी र जनआन्दोलनमा सक्रिय रहँदै आएका छन्।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयमा सम्बन्ध र विदेश नीतिका गेस्ट लेक्चररसमेत रहेका पन्त दर्जनौँ युथ नेटवर्क तथा राजनीतिक र शैक्षिक अन्तर्राष्ट्रिय संगठनमा नेतृत्वदायी भूमिकामा छन्। अन्तर्राष्ट्रिय राजनीतिका जानकार, अध्ययनशील र शालीन युवा राजनीतिज्ञको छवि बनाएका उनी युवामाझ लोकप्रिय मानिन्छन्।
ऊर्जाशील, अध्ययनशील र अनुभवी युवा नेता पन्त शुक्लाफाँटा नगरपालिका–५, कञ्चनपुरका स्थायी बासिन्दा हुन्। ३८ वर्षीय पन्तले युवा आन्दोलन, राजनीतिक शिक्षा, विज्ञान–प्रविधि, मानव अधिकार, लोकतन्त्र, सामाजिक न्याय, भू–राजनीति, विश्व अर्थतन्त्र तथा अन्तर्राष्ट्रिय राजनीतिसम्बन्धी दर्जनौँ गोष्ठी, सेमिनार र सम्मेलनमा सहभागिता जनाएका छन्। साथै उनले अमेरिका, चीन, भारत, रुस, ब्रजिल, कोलम्बिया, क्युबा, भेनेजुएला, दक्षिण अफ्रिका, लेबनान, अजरबैजान, टर्की, संयुक्त अरब इमिरेट्स, कतारलगायत विभिन्न देशहरूको अनुभव संकलन गरेका छन्।