बाढीमा बेपत्ता टीकापुरका ३३ श्रमिकका परिवारलाई १८ लाख ७६ हजार पारिश्रमिक वितरण
टीकापुर: टीकापुरबाट रसुवास्थित जलविद्युत् आयोजनामा श्रम गर्न गएर बाढीमा बेपत्ता भएका श्रमिकको पारिश्रमिक आएको छ । टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विकको रोहवरमा पारिश्रमिक वितरण गरिएको छ ।
आयोजनाका लागि कामदार आपूर्तिकर्ता तुलाराम चौधरीले निर्माण कम्पनीबाट कामदारले श्रम गरेको अवधिको पारिश्रमिक ल्याएर आइतबार टीकापुरमा रहेका श्रमिकका परिवारलाई वितरण गर्नुभएको छ । पारिश्रमिकबापतको पैसा लिन बोलाए पनि बाढीमा बेपत्ता भएका श्रमिकका परिवार मलिन अनुहार र आफन्तको खबर सुन्न आतुर भएर टीकापुर नगरपालिका–१, समितिपुर पुगेका थिए ।
टीकापुर नगरपालिका–५ बाट बेपत्ता हुनुभएका ठगराम चौधरीका छोरा कमल चौधरी बुवाको सासको आशा मरेको तर लास भए पनि छिटै पाउने प्रतीक्षामा रहेको बताए। २० महिनाअघि दक्षिण कोरिया जानुभएका कमल बुवा भोटेकोशीको बाढीमा परेर बेपत्ता भएको खबर सुनेपछि नेपाल फर्किएका थिए। उनले भने, “हरेक दिन शव फेला परेको सुन्दा मेरो बुवा पनि त्यसैमा हुनुहुन्छ कि जस्तो लाग्छ । पाँच जनाको दुई लाख १४ हजार हजार ४८७ रुपियाँ पारिश्रमिक लेखिएको संयुक्त चेक पाएको छु तर मेरो ध्यान मेरै बुवाको खबर कतिबेला आउँछ भन्नेमा छ । यसको जवाफ पाइरहेको छैन ।” टीकापुर नगरपालिका शक्तिनगरका दिलबहादुर चौधरीकी श्रीमती यशोदा चौधरी पनि श्रीमान् बेपत्ता भएको पीडामा छिन्।
असार ३० गते रसुवा गएका दिलबहादुरको डेढ महिनाको ज्याला भनेर उनले ६० हजार रुपियाँ पाएकी छन्। अहिले ज्यालाको भन्दा पनि हाम्रा मान्छेको खबर पाउन आतुर उनले बताइन्। यस्तै कमैया शिविरका दीपक चौधरीकी श्रीमती मीना चौधरी पनि श्रीमान्को खबर नपाउँदा अरू पाउने नपाउने कुरा नसोचेको बताउँछिन्।
पोखरा छिङहवा कन्स्ट्रक्सनले यहाँका ४७ जना कामदारले काम गरेको अवधिको १८ लाख ७६ हजार ५७३ रुपियाँ आफ्नो खातामा हालिदिएपछि तिनका परिवारलाई बुझाउन आएको कामदार आपूर्तिकर्ता तुलाराम चौधरीले बताए।
यसरी ज्याला पाउनेमा १४ जना बाढीग्रस्त क्षेत्रबाट फर्केर आएका कामदार छन् भने ३३ जना बेपत्ता श्रमिकका परिवार छन् । बेपत्ता भएकामा २५ जना टीकापुर नगरपालिका, चार जना जानकी गाउँपालिका र चार जना बर्दियाको गेरुवा गाउँपालिकाका कामदार छन् । उनले भने, “अहिले काम गरेको अवधिको निर्माण कम्पनीले दिएको तलब हो । कामदारको बिमाबापतको रकमबारे कुरा भइरहेको छ ।”