सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा निर्वाचन विरोधी गतिविधि हुन नदिन ३० हजार सुरक्षाकर्मी परिचालन

२०८२ फाल्गुन १९, ११:४८ खबर संवाददाता

धनगढीः फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुदूरपश्चिममा सुरक्षा व्यवस्था कडा पारिएको छ। आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालले प्रदेशको चुनावी सुरक्षाबारे अनुगमन–निरीक्षण गर्दै जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्। उनले निर्वाचन तयारी, सुरक्षा रणनीति र आवश्यक व्यवस्थापनबारे निर्देशन दिँदै विगतका कमजोरी दोहोरिन नदिने स्पष्ट पारे।

'विगतमा यहाँ फर्जी मत हाल्ने, बुथ कब्जा गर्ने लगायतका गतिविधि भएका उदाहरण छन्,' उनले भने, 'यसपटक त्यस्ता गतिविधि रोकथाम गर्छौं, भएमा कानुनी कारबाही हुन्छ।'

सुदूरपश्चिमका केही जिल्लामा विगतका निर्वाचनमा बुथ कब्जा, फर्जी मत र झडपका घटना हुँदै आएका थिए। विशेषगरी बाजुरामा २०४८ सालयता हरेक निर्वाचनमा विवाद हुने गरेको छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनका क्रममा बाजुरामा दुई युवाको मृत्यु भएको थियो। बाजुरासँगै बझाङका केही मतदान केन्द्रमा अत्यधिक मतदान प्रतिशत देखिने गरेको विगतको तथ्यांकले देखाएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी ओमबहादुर रानाले एकीकृत सुरक्षा योजनाअनुसार प्रदेशभर कडा सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए। उनका अनुसार निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्ला–जिल्लामा थप प्रहरी परिचालन गरिएको छ।

'सात हजारभन्दा बढी नेपाल प्रहरी, १३ हजार पाँच सय निर्वाचन प्रहरी तथा सशस्त्र र नेपाली सेना सहित ३० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिरहेका छौँ,' डिआइजी रानाले बताए। मौन अवधि सुरु भएसँगै थप सतर्कता अपनाइएको उनले उल्लेख गरे।

प्रदेशभर एसएसपीसम्मका अधिकृत फिल्डमा खटिएका छन् भने १७७ मोबाइल टोली र २० रिजर्भ टोली तयारी अवस्थामा राखिएको छ। अतिसंवेदनशील मतदान केन्द्रमा सिसी क्यामेरा जडान गरिएको छ भने आवश्यक परे हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ।

१७ लाखभन्दा बढी मतदाता रहेको सुदूरपश्चिम प्रदेशमा १६ निर्वाचन क्षेत्र, १ हजार १७६ मतदानस्थल र २ हजार १९९ मतदान केन्द्र रहेका छन्। तीमध्ये ४८१ मतदानस्थल र ९८५ मतदान केन्द्र अतिसंवेदनशील सूचीमा परेका छन्। साथै ३०० मतदानस्थल सामान्य र ३९५ संवेदनशील रहेका छन् भने मतदान केन्द्रतर्फ ४५६ सामान्य र ७५७ संवेदनशील वर्गीकरण गरिएको छ।

कमेन्ट लोड गर्नुस