लेखराज भट्ट लगातार दोस्रो पटक पराजित
धनगढी: कैलाली–४ मा एमालेका उपमहासचिव लेखराज भट्ट लगातार दोस्रो पटक पराजित भएका छन्।
यहाँ रास्वपाका खेमराज कोइराला २८ हजार ५५६ मतसहित विजयी भएका छन्। त्यस्तै नेपाली कांग्रेसका गोरखबहादुर विष्टले ११ हजार ३०१ मत प्राप्त गरेका छन्। एमालेका भट्ट ९ हजार ४४४ मतसहित तेस्रो स्थानमा रहे।
भट्ट यसअघि पनि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए। त्यतिबेला उनले २२ हजार ६६३ मत ल्याएका थिए भने कांग्रेसका नेता वीरबहादुर बलायर २६ हजार २७६ मतसहित विजयी भएका थिए। यस पटक भने सो समयको भन्दा कम मत खसेको बताइएको छ। यो निर्वाचनका लागि एमालेले भट्टलाई कैलाली–४ बाट एकल उम्मेदवारका रूपमा सिफारिस गरेको थियो।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा भने भट्ट २७ हजार ५४४ मत ल्याएर विजयी भएका थिए। त्यतिबेला कांग्रेसका सुनिलकुमार भण्डारीले १८ हजार १४२ मत ल्याएर पराजित भएका थिए। त्यसबेला तत्कालिन नेकपा माओवादी र एमालेबिच गठबन्धन थियो र भट्ट साझा उम्मेदवार बनेका थिए। भट्टले २०२८ सालदेखि विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका हुन्। उनी २०३६ सालमा नेकपा मशाल हुँदै २०५१ सालमा माओवादी आन्दोलनमा सक्रिय भएका थिए।
माओवादी शान्ति प्रक्रियामा आएपछि उनी सुदूरपश्चिमका प्रमुख नेतामध्ये एक बने। उनले २०६४ को संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधि सभा निर्वाचन जितेका थिए भने २०७० सालको संविधानसभा निर्वाचनमा भने पराजित भएका थिए। भट्ट यसअघि श्रम मन्त्री, विज्ञान तथा प्रविधि मन्त्री र दुई पटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत भइसकेका छन्। पछि नेपाल कम्युनिस्ट पार्टी विभाजन भएपछि उनी एमाले अध्यक्ष केपी ओलीसँग नजिकिएका थिए। एमालेमा प्रवेश गरेपछि उनले सुदूरपश्चिममा पार्टी नेतृत्व सम्हालेका छन्। हाल उनी एमालेको उपमहासचिव पदमा रहेका छन्।