सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक विद्यालयको वार्षिक परीक्षा वनका अध्यक्षले गरे अनुगमन

२०८२ चैत्र १०, ११:१० नारायण अवस्थी

धनगढीः कैलालीको एक सामुदायिक विद्यालयको वार्षिक परीक्षाको अनुगमन सामुदायिक वनका अध्यक्षले गरेका छन्। जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ७ स्थित मष्ठा बण्डाली आधारभूत विद्यालयको वार्षिक परीक्षा वनका अध्यक्ष जगत कडायतले गरेका हुन्।

चैत ८ गते विद्यालयमा परीक्षा चलिरहेको अवस्थामा पुगेका स्थानीय कालिका सामुलायिक वन उपभोक्ता समितिका अध्यक्ष कडायतले परीक्षा हलभित्र पसेर परीक्षाको अनुगमन गरेका हुन्। वनका अध्यक्षले वार्षिक परीक्षाको अनुगमन गरेको विवरण विद्यालयका प्रधानाध्यापक अक्कलबहादुर सुनारले नै सार्वजनिक गरेका हुन्।

प्रधानाध्यापक सुनारले सामाजिक सञ्जाल फेसबुकमा वनका अध्यक्षले परीक्षाको अनुगमन गरेको व्यहोरासहितको तस्विर सार्वजनिक गरेका हुन्। उनले 'आजबाट वार्षिक परीक्षा सुरू, वन उपभोक्ता समितिका अध्यक्ष जगत कडायत अनुगमनमा' भन्ने क्याप्सन लेखर कडायतको फोटो पोष्ट गरेका थिए,  तर उक्त फोटो भने प्रधानाध्यापक सुनाले अहिले हटाएका छन्। उनले दिनेशखबरसँग कुराकानी गर्दै गल्तीवस फोटो सार्वजनि गरिएको बताएका छन्। 'वनका अध्यक्ष कडायत हाम्रो अभिभावक पनि हुन् र पूर्व विद्यार्थी पनि हुन्। उहाँ विद्यालयमा आउनुभएको हो,' उनले भने, 'अनुगमन गरेको भनेर मैलै नै फोटो फेसबुकमा राखेको हुँ तर अहिले हटाइसकेको छु।'

अहिले विद्यालयहरूमा वार्षिक परीक्षा चलिरहेको छ। स्थानीय तहका जनप्रतिनिधिसहित वनका अध्यक्षले समेत परीक्षाको अनुगमन गरिरहेको भिडियो र तस्विर सामाजिक सञ्जालमा आइरहेका छन्। यसरी परीक्षाको समयमा जनप्रतिनिध लगायतका व्यक्ति हुल बाँधेर अनुगमनका नाममा परीक्षा हलभित्र पस्नु गलत भएको भन्दै सर्वसाधारण र सरोकारवालाले विरोध गरेका छन्। उनीहरूले एकाग्रह भएर परीक्षा दिइरहेका बेला अनुगमनको नौटङ्गी नगर्न आग्रह गरेका छन्।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस