ललितपुर जिल्ला अदालतमा खाजाको समयमा पनि सेवा नरोकिने
काठमाडौँः ललितपुर जिल्ला अदालत ले अब खाजाको समयमा पनि सेवाग्राहीलाई निरन्तर सेवा दिने व्यवस्था गरेको छ।
अदालतको प्रशासन शाखाले जारी गरेको सूचनाअनुसार यसअघि दिउँसोको खाजा समयमा सेवा प्रवाह रोकिने गरेको थियो। तर, सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले अब खाजाको समयमा पनि काम नरोकिने निर्णय गरिएको हो।
सूचनामा उल्लेख भएअनुसार कर्मचारीहरूको खाजा समय आइतबारदेखि बिहीबारसम्म दिउँसो १:३० देखि २:३० बजेसम्म र शुक्रबार १:०० देखि २:०० बजेसम्म तोकिएको छ। यस अवधिमा सेवा अवरुद्ध हुने अवस्था अन्त्य गर्दै अब निरन्तर सेवा प्रवाह गरिने अदालतले जनाएको छ।
यो व्यवस्था मिति २०८२/१२/१७ देखि लागू गरिएको अदालतले स्पष्ट पारेको छ।