सहकारी पीडितसँग मन्त्री रावलको प्रत्यक्ष संवाद सुरु
काठमाडौँः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारी पीडितहरूसँग प्रत्यक्ष छलफल सुरु गर्नुभएको छ। सरकारले सय दिनभित्र साना बचतकर्ताहरूलाई रकम फिर्ता गराउने लक्ष्य लिएको सन्दर्भमा यो संवाद अघि बढाइएको हो।
आज बिहानदेखि मन्त्रालयमा देशभरका विभिन्न सहकारीका पीडितहरू भेला भई आफ्ना समस्या र गुनासा मन्त्रीसमक्ष राखिरहेका छन्। लामो समयदेखि बचत फिर्ता नपाएर समस्यामा परेका सर्वसाधारणले आफ्ना अनुभव र अवस्था प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने अवसर पाएका छन्।
छलफलका क्रममा मन्त्री रावलले पीडितहरूको समस्या समाधानलाई प्राथमिकतामा राखिएको स्पष्ट पारिन्। उनका अनुसार पीडितहरूको प्रभावकारी सम्बोधनका लागि मन्त्रालय गम्भीर रूपमा लागिरहेको छ।
सरकारले सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न चरणबद्ध रूपमा काम गरिरहेको र विशेषगरी साना बचतकर्ताहरूलाई राहत दिने योजनामा केन्द्रित रहेको पनि मन्त्री रावलले जानकारी दिइन्।
यस पहलबाट सहकारी पीडितहरूको समस्या समाधानतर्फ ठोस प्रगति हुने अपेक्षा गरिएको छ।