सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपा सभापति रवि लामिछानेको आग्रह: 'हामीमाथि चौबिसै घण्टा निगरानी राख्नुहोस्'

२०८२ चैत्र १९, ०२:५७ खबर संवाददाता

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिपक्षी दलहरूलाई आफूहरूमाथि निरन्तर निगरानी राख्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले आफ्नो पार्टीका सांसदहरूलाई जनताबाट पाएको जिम्मेवारीलाई गम्भीर रूपमा लिनुपर्ने भन्दै प्रश्न उठाउने मात्रै नभई त्यसको जवाफ खोज्ने दायित्व पनि रहेको बताए। 'हामी प्रश्न सोधेर आएका हौं, आज बस्ने स्थान परिवर्तन भएको हुन सक्छ, तर प्रश्नप्रतिको नैतिक जिम्मेवारी उस्तै छ,' उनले उल्लेख गरे।

लामिछानेले जनताले दिएको अवसरलाई सही रूपमा उपयोग नगरेमा फेरि ‘गुमेको अवसर’को रूपमा इतिहासमा दर्ज हुने चेतावनी दिँदै त्यस्तो अवस्था आफूहरूलाई स्वीकार्य नहुने स्पष्ट पारे।

उनले रास्वपा केवल प्रश्न उठाउने पार्टी नभई समाधान खोज्ने उद्देश्यसहित अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।

कमेन्ट लोड गर्नुस