छुरा प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु
काठमाडौँ: ललितपुरको पाटन स्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु भएको छ।
मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–६ घर भएर ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङ छन्। चैत २५ मा साँझ उनीहरूमाथि छुरा प्रहार भएको थियो । उपचारको क्रममा बिएण्डबी अस्पतालमा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले बताए।
दुईपक्षको बिचमा विवाद हुँदा छुरा प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ। दुवै जनाको पेटमा गहिरो चोट लागेको थियो। छुरा प्रहारमा संलग्न आरोपमा ललितपुर महानगरपालिका–९ भोलटोल बस्ने ३२ वर्षीय सञ्जीव नेपाली र नवलपरासी गैँडाकोट घर भएर ललितपुरको सुबहाल बस्ने २१ वर्षीय गगन सुनारलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ।