सबैको भ्रमण आदेश सार्वजनिक गर्न मुख्यमन्त्री शाहको निर्देशन
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशका सबै मन्त्री, सांसद तथा कर्मचारीहरूको भ्रमण आदेश सार्वजनिक गर्न निर्देशन दिएका छन्।
धनगढीमा आयोजित दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि प्रदेश सभा सदस्यहरूको सुझाव संकलन गर्ने क्रममा मुख्यमन्त्री शाहले प्रमुख सचिव बैकुण्ठ अर्याललाई पारदर्शिता कायम गर्न भ्रमण आदेश सार्वजनिक गर्न निर्देशन दिएका हुन्।
मुख्यमन्त्री शाहले प्रदेशको समग्र विकासका लागि सबै पक्ष मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए। उनले स्वास्थ्य क्षेत्रमा पालिकास्तरमा निर्माण भएका ठूला संरचनाहरू स्थानीय स्रोत र साधनबाट सञ्चालन गर्न सकिने अवस्था रहेको उल्लेख गर्दै जनताले प्रभावकारी स्वास्थ्य सेवा पाउन ती संरचनाहरू सञ्चालनमा ल्याउन सबैले जिम्मेवार बन्नुपर्नेमा जोड दिए।