डोटीको विपि नगर र बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना
धनगढीः डोटी र बाजुरा जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना भएसँगै स्थानीय नागरिकले घरदैलोमै छिटो, सहज र पहुँचयोग्य सरकारी सेवा पाउने भएका छन्। दुर्गम भेगका बासिन्दालाई नागरिकता, जग्गालगायतका कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ ।
डोटीको बडिकेदार गाउँपालिका–१ स्थित बि.पी. नगरमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले एक समारोहबीच कार्यालयको उद्घाटन गरेका हुन्। उद्घाटनसँगै स्थानीय सोबिता बोहरालाई नागरिकता प्रमाणपत्र प्रदान गर्दै सेवा शुभारम्भ गरिएको थियो ।
डोटी जिल्लामा पहिलो पटक इलाका प्रशासन कार्यालयमार्फत सेवा सुरु भएको हो । यस कार्यालयबाट जोरायल र बडिकेदार गाउँपालिकाका सम्पूर्ण तथा बोगटान फुड्सिल गाउँपालिका–१, २ र ३ का गरी ४२ हजारभन्दा बढी स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ । उद्घाटन कार्यक्रममा सहसचिव काफ्लेले स्थानीय नागरिकलाई छिटो र सहज सेवा दिने उद्देश्यले इलाका प्रशासन कार्यालय स्थापना गरिएको बताए।
यसैगरी, बाजुराको पूर्वी उत्तरी क्षेत्र बुढीनन्दा नगरपालिका–२ को कोल्टीमा पनि इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । गृह मन्त्रालयका सहसचिव कालिप्रसाद पराजुलीले कार्यालयको उद्घाटन गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि हिमाली, जगन्नाथ, स्वामीकार्तिक खापर गाउँपालिका तथा बुढीनन्दा नगरपालिकाका स्थानीयलाई नागरिकता, जग्गालगायतका सरकारी कामकाज गर्न सहज हुने भएको छ । यसअघि यहाँका बासिन्दा सदरमुकाम मार्तडी पुग्न एक हजार पाँच सय रुपैयाँ भाडा तिर्नुका साथै बसोबास र खानपानमा २० देखि २५ हजार रुपैयाँसम्म खर्च गर्न बाध्य थिए ।
दुर्गम भेगका धेरै स्थानीयले टाढाको दूरी र खर्चका कारण समयमै नागरिकता तथा जग्गासम्बन्धी सेवा लिन नसक्ने अवस्था रहेको थियो । लामो समयदेखि स्थानीय जनप्रतिनिधि, नागरिक समाज र बुद्धिजीवीले कोल्टीमा इलाका प्रशासन कार्यालयको माग गर्दै आएका थिए । सोही मागअनुसार गृह मन्त्रालयको स्वीकृतिपछि कार्यालय स्थापना गरिएको हो ।
बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार कोल्टीमा इलाका प्रशासन कार्यालयसँगै मालपोत र नापी सेवा केन्द्र पनि संयुक्त रूपमा सञ्चालनमा ल्याइएको छ । सीमित जनशक्तिबाट भए पनि नियमित सेवा प्रवाह सुरु गरिएको उनले जानकारी दिए।
इलाका प्रशासन कार्यालय स्थापना भएसँगै डोटी र बाजुराका दुर्गम क्षेत्रका स्थानीयले अब सरकारी सेवा लिन सहज हुने आशा गरेका छन् ।