युएईसँगको खेलमा टस हारेको नेपाल पहिला ब्याटिङ गर्दै
काठमाण्डौ: आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले युएईसँगको आजको खेलमा पहिला ब्याटिङ थालेको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा युएईले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ थालेको हो । नेपालको कप्तान रोहित पौडेल र युएईका मोहम्मद वासिम छन् । अङ्क तालिकाको अन्तिम दुईमा रहेका नेपाल र युएई दुवै टोलीलाई शीर्ष–६ मा रहेर एकदिवसीय मान्यता जोगाउने मुख्य चुनौती छ ।
घरेलु मैदानमा चलिरहेको यो शृङ्खलामा नेपालसहित युएई र ओमान रहेका छन् । यी टोलीले एक आपसमा दुई–दुई खेल खेल्नेछन् । त्यसपछि नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित श्रृंखला खेल्नेछ । अहिले ८ टोली मध्ये २० खेलमा जम्मा ५ जीत निकालेको नेपाल १२ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ ।
नेपालभन्दा अङ्क तालिकामा पछि रहेको टोली युएई २० खेलमा १० अङ्कका साथ पुछारमा छ । यस्तै नेपालले खेल्ने अर्को टोली ओमान २४ खेलबाट २९ अङ्कसहित तेस्रो स्थानमा छ । त्यस्तै अहिलेसम्म २४ खेल खेलेको अमेरिका ३६ अङ्क जोडेर शीर्षस्थानमा छ ।