सुदूरका सांसदलाई ओलीको निर्देशन: गुटबन्दी अन्त्य गर्नुस्
धनगढी: नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलभित्र चुलिएको विवाद र आगामी सत्ता समीकरणका विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्णायक हस्तक्षेप गरेका छन्।
संसदीय दलको नेतृत्वलाई लिएर सांसदहरूबिच तीव्र मतभेद बढिरहेका बेला अध्यक्ष ओलीले सुदूरपश्चिमका सबै ११ जना प्रदेशसभा सदस्यहरूलाई भक्तपुरको गुण्डुमा बोलाएर विशेष छलफल गरेका हुन्। संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलको कार्यशैलीप्रति असन्तुष्ट पक्षले नेतृत्व परिवर्तनको माग गरिरहेका बेला भएको यस भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
छलफलमा अध्यक्ष ओलीले आन्तरिक कलह छोडेर पार्टीलाई बलियो बनाउन र सम्भावित निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका हुन्। बैठकपछि नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्णप्रसाद जैसीले रातोपाटीसँग कुरा गर्दै संसदीय दलको नेता परिवर्तनका विषयमा कुनै औपचारिक छलफल नभएको दाबी गरे। अध्यक्ष ओलीले आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
‘अध्यक्षज्यूले प्रदेश सभा र सरकारमा हाम्रा ११ जना सांसदको भूमिकालाई कसरी प्रभावकारी बनाउने र पार्टीभित्रको कमजोरीलाई कसरी सुधार्ने भन्ने विषयमा केन्द्रित रहेर छलफल गर्नुभएको छ।’, उनले भने।
अध्यक्ष ओलीले बैठकमा गत निर्वाचनको समीक्षा गर्दै नतिजा किन कमजोर आयो भन्ने विषयमा चासो राखेका थिए।
‘चाँडै फेरि प्रदेश र स्थानीय तहको चुनाव हुन्छ, त्यसैले अहिलेदेखि नै नतिजा सुधार्ने गरी गाउँस्तरमा लाग्न र प्रदेशमा विवादरहित ढङ्गले अगाडि बढ्न अध्यक्षले स्पष्ट निर्देशन दिनुभएको छ,’ जैसीले भने। हाल सुदूरपश्चिममा नेपाली कांग्रेसका कमलबहादुर शाहको नेतृत्वमा एमालेसहितको गठबन्धन सरकार छ। बैठकमा सरकारको प्रभावकारिता र कांग्रेससँगको सहकार्यका विषयमा पनि कुराकानी भएको थियो।
सुदूरपश्चिममा एमालेको एकल बहुमत नभएकाले हालको अवस्थामा कांग्रेससँग मिलेर जाँदा पनि पार्टी किन पछि प¥यो भन्नेबारे ओलीले जिज्ञासा राखेको थिए। दलको नेता फेर्ने सांसदहरूको भित्री चाहना र नयाँ सत्ता समीकरणको सम्भावना भने अझै टरिसकेको छैन।