मुख्यमन्त्री शाहलाई राजीनामा दिन काँग्रेस सांसदको दबाब, दलभित्र शक्ति संघर्ष चर्कियो
धनगढीः नेपाली काँग्रेसका प्रदेश सभा सदस्य दिवानसिंह विष्टले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई राजीनामा दिन आग्रह गरेका छन्।
शुक्रबार बिहान मुख्यमन्त्री शाहलाई सरकारी निवासमा भेट्दै विष्टले संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन्। जवाफमा मुख्यमन्त्री शाहले आफूमाथि असन्तुष्टि भए बहुमत पुर्याएर हटाउन चुनौती दिएको बताइएको छ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेसका १८ सांसद छन्। शाहलाई दलको नेताबाट हटाउन १० सांसदको समर्थन आवश्यक पर्छ। विष्टका अनुसार हालसम्म आठ सांसद हटाउने पक्षमा उभिएका छन् भने बाँकी दुई जनासँग छलफल भइरहेको छ।
भेटमा विष्टले राजीनामा दिएर सकारात्मक सन्देश दिन आग्रह गरेका थिए भने मुख्यमन्त्री शाहले दलभित्र बहुमत जुटे आफू पद छोड्न तयार रहेको दोहोर्याएका छन्।
यसअघि पार्टीभित्रको आन्तरिक विवाद र नेतृत्व परिवर्तनको प्रयासले सुदूरपश्चिम काँग्रेसमा शक्ति संघर्ष बढ्दै गएको देखिएको छ।