कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ
धनगढीः कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२ अत्तरीयाबाट अवैध लागूऔषध खैरो हेरोइन २० ग्राम २ सय ४० मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–२ अत्तरीयामा डेरा गरी बस्ने कञ्चनपुरको भीमदत्त नगरपालिका–६ घर भएका ४३ वर्षीय धर्मानन्द भट्ट, १७ वर्षीया बालिका र ४४ वर्षीय गोपाल तिमेल्सिना रहेका छन्। आइतबार बिहान इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले धर्मानन्दको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
यसैगरी, कैलालीको कैलारी गाउँपालिका–३ सुर्मिनालाबाट अवैध लागूऔषध खैरो हेरोईन २ ग्राम २० मिलिग्रामसहित सोही ठाउँ बस्ने २९ वर्षीय मिमुह चौधरीलाई आइतबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।