सुदूर नेपाललाई विश्वसँग जोड्दै

लम्की–टीकापुर प्रसारण लाइन ढिलाइले टीकापुर क्षेत्रमा विद्युत आपूर्तिमा समस्या

२०८३ जेठ २०, ०५:३६ खबर संवाददाता

टीकापुरः लम्की–टीकापुर विद्युत् प्रसारण लाइनको काम समयमै नसकिँदा विद्युत् आपूर्तिका समस्या आउने गरेको छ । उक्त प्रसारण लाइनको काम २०८१ चैतमा नै सक्नुपर्ने गरी ठेक्का लागेको थियो । 

विद्युत् उपभोगको माग बढ्दै गएपछि प्राधिकरणले भजनी, राजापुर टीकापुरका लागि एउटै खम्बामा अलग अलग लाइन ल्याउने गरी ३३ केभी लाइन विस्तार थालेको हो । ३० वर्षअघि १० मिटरको खम्बामा तानिएको लाइन खेतमा परेकाले मर्मत सम्भारमा कठिन भएपछि अहिले सडकको किनारैकिनार नयाँ लाइन विस्तार गर्न लागिएको हो ।

अहिले टीकापुरमा १० मेगावाट, राजापुर र भजनी स्टेसनबाट करिब छ/छ मेगावाट विद्युत् खपत भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणको टीकापुर वितरण केन्द्रका प्रमुख इन्जिनियर आनन्द सापकोटाका अनुसार १७ मेगावाट विद्युत् प्रवाह गर्न सक्ने क्षमताको लाइनबाट २२ मेगावाट विद्युत् प्रवाह हुँदा तार चुँडिने, जम्पर जल्ने भइरहन्छ । आपूर्ति व्यवस्था मिलाउन गाह्रो हुने गरेको छ।

यहाँ विद्युत् माग बढेका बेला १६० भोल्टसम्म झर्ने, विद्युतीय उपकरणले काम नगर्ने र आपूर्ति बन्द हुने समस्या भइरहेको छ । टीकापुर उद्योग वाणिज्य सङ्घका महासचिव प्रकाश तिमिल्सनाले विद्युत् अनियमित हुँदा उपकरण बिग्रिने, मेसिन नचल्ने, लाइन सट हुने गुनासो आइरहेको र यस विषयमा विद्युत् प्राधिकरणलाई बेलाबेला जानकारी गराए पनि समस्या समाधान नभएको बताए। 

कम्पनीले जडान कार्य मात्रै गर्ने भएकाले सामग्री उपलब्ध गराउने र साइट क्लियर गर्ने काममा ढिलाइ हुँदा कार्यसम्पन्न गर्न पनि ढिलो भएको लक्ष्मण निर्माण सेवाका प्रतिनिधि जीवन रानाले बताए। 

प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्राविधिक प्रमुख, इन्जिनियर दीपक चौधरीका अनुसार खम्बा र पिन इन्सुलेटर केन्द्रले ढिलो पठाउँदा काम रोकिएको छ । अमौरीमा सुकेका दुई रुख, पथरैयामा व्यक्तिगत जग्गामा रहेका लिप्टिसका रुख हटाउन बाँकी छ । एउटै खम्बामा डबल लाइन, क्रस लाइन भएकाले पनि बढी समय लागेको छ । 

प्राधिकरण साढे चार करोड रुपियाँको लागतमा लम्की–टीकापुर १६ किलोमिटरलाइन बनाउँदै छ । डबल सर्किट तार राख्न मिल्ने पाँच सय जति खम्बा गाडेर विद्युत् आपूर्ति क्षमता बढाइँदै छ । समयमा लाइन नबन्दा यहाँको आपूर्ति व्यवस्था प्रभावित भइरहेको छ ।  
 

कमेन्ट लोड गर्नुस