सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वर्गीय साईचे सुनारको सम्झनामा गोदावरी स्वास्थ्य केन्द्रलाई शव चिस्यान यन्त्र हस्तान्तरण

२०८३ जेठ २१, ०७:२७ खबर संवाददाता

कैलालीको गोदावरी नगरपालिकामा स्वर्गीय साईचे सुनारको पवित्र स्मृतिमा उनका छोरा शंकर सुनारले गोदावरी आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई मृत मानव शरीर चिस्यान यन्त्र (डेड बडी फ्रिजर) हस्तान्तरण गरेका छन्।

गोदावरी नगरपालिका वडा नम्बर १०, ११ र १२ का बासिन्दालाई सेवा दिने उद्देश्यले ल्याइएको उक्त उपकरण नगरपालिकाको कार्यपालिका कार्यालयमार्फत औपचारिक रूपमा स्वास्थ्य सेवा केन्द्रलाई हस्तान्तरण गरिएको हो। गोदावरी नगरपालिका–११ गौडीमा आयोजित कार्यक्रममा स्वर्गीय साईचे सुनार (जन्म १९९९–०५–१८, निधन २०७९–०६–०३) को स्मृतिमा परिवारले सामाजिक उत्तरदायित्वस्वरूप उक्त सहयोग प्रदान गरेको जनाएको छ।

कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले पछिल्लो समय रोजगारीका लागि युवाहरू विदेश तथा देशका विभिन्न स्थानमा जाने क्रम बढिरहेको अवस्थामा घरपरिवारमा आकस्मिक मृत्यु हुँदा शव व्यवस्थापनमा कठिनाइ हुने गरेको बताए। उनले यस्तो अवस्थामा शव चिस्यान यन्त्रले मृत शरीरलाई सुरक्षित राख्न महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गरे।

“आफन्तहरू आइपुग्न समय लाग्दा शवलाई बरफमा राख्नुपर्ने बाध्यता थियो। अब यस्तो उपकरण उपलब्ध भएपछि शव सुरक्षित राख्न सहज हुनेछ,” नगर प्रमुख भट्टले भने। उनले स्वर्गीय साईचे सुनारप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरे। साथै यस्ता सामाजिक योगदानले स्थानीय स्वास्थ्य सेवा प्रणालीलाई थप सुदृढ बनाउन मद्दत पुग्ने बताए।

कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष रविन्द्र शाहीले वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यहरू समयमै घर फर्किन नसक्दा मृतकको अन्तिम अनुहारसमेत देख्न नपाउने अवस्था रहेको उल्लेख गर्दै शव चिस्यान यन्त्रले त्यस समस्याको समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले उपकरण उपलब्ध गराएकोमा सुनार परिवारलाई धन्यवाद दिए।

स्वर्गीय साईचे सुनारकी पत्नी अमनी देवी सुनारले श्रीमान्को स्मृतिलाई सामाजिक सेवासँग जोड्न पाएकोमा खुशी व्यक्त गरिन्। परिवारले आगामी दिनमा पनि समाजका आवश्यक क्षेत्रमा सहयोग गर्दै जाने प्रतिबद्धता जनाएको छ।

स्वर्गीय साईचे सुनारका छोरा भिम सुनार र शंकर सुनार विगत एक दशकदेखि वैदेशिक रोजगारीका सिलसिलामा संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत छन्। शंकर सुनारले उक्त शव चिस्यान यन्त्र भारतबाट ल्याएर निःशुल्क रूपमा स्वास्थ्य सेवा केन्द्रलाई हस्तान्तरण गरेका हुन्।

नगरपालिकाले उक्त उपकरणले स्थानीय बासिन्दालाई आपतकालीन अवस्थामा शव व्यवस्थापनमा सहजता ल्याउने र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेको छ।

कमेन्ट लोड गर्नुस