आगामी बजेटको तयारीमा दार्चुलाका स्थानीय तह
दार्चुलाः दार्चुलाका स्थानीय तह आगामी वर्ष २०८३/८४ को बजेटको तयारीमा जुटेका छन् । सङ्घीय सरकार र प्रदेश सरकारले बजेट ल्याइसकेको अवस्थामा स्थानीय तहसमेत आगामी आवको बजेट ल्याउने तयारीमा जुटेका हुन् ।
संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने हुन्छ । यहाँका नौ वटै स्थानीय तह असार १० गतेभित्रै गाउँ सभा, नगर सभामार्फत आगामी आवका लागि बजेट ल्याउने तयारीमा रहेका छन् ।
व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले आफूहरू बजेट ल्याउने अन्तिम तयारीमा रहेको जानकारी दिए। यहाँको मार्मा गाउँपालिकाले असार ६ गते गाउँ सभाको १९ औँ अधिवेशनमार्फत नीति तथा कार्यक्रमसँगै बजेट पनि ल्याउने तयारी गरेको गाउँपालिकाकी उपाध्यक्ष शर्मिलाकुमारी चन्द सिंहले जानकारी दिइन्।
गाउँपालिकाले पुरानै कार्यक्रमको निरन्तरता तथा केही नयाँ कार्यक्रम थप गरेर आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेको उनले बताइन् । यहाँका स्थानीय तहमध्ये सबैभन्दा छिटो बजेट मार्मा गाउँपालिकाले ल्याउन लागेको छ ।
यस्तै नौगाड गाउँपालिकाले सुदूरपश्चिम प्रदेश, गाउँ सभा र नगर सभा कार्य सञ्चालन ऐन, २०७५ को दफा ३ को उपदफा (१) बमोजिम गाउँ सभाको १९ औँ अधिवेशनमार्फत नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको गाउँपालिकाका उपाध्यक्ष जगतसिंह ठगुन्नाले जानकारी दिए।
गाउँपालिकाले असार ८ गते नीति तथा कार्यक्रम र बजेट ल्याउने उनले बताए। लेकम गाउँपालिकाले पनि असार १० गतेभित्रै नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरिरहेको गाउँपालिकाका प्रवक्ता सुरेशसिंह थापाले बताए।
सङ्घ र प्रदेश सरकारले स्थानीय तहलाई उपलब्ध गराउने बजेट सिलिङ प्राप्त नभएको भए पनि बजेट ल्याउने आवश्यक तयारी भइरहेको उनले बताए। यस्तै शैल्यशिखर नगरपालिका र महाकाली नगरपालिकाले पनि असार १० गते बजेट ल्याउने तयारी गरिरहेका छन् । शैल्यशिखर नगरपालिकाकी नगर उपप्रमुख शान्ति खडायतका अनुसार पालिकाले आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गरिरहेको छ । नगरपालिकाले पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै यस वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरिरहेको उनले बताईन्। -गाेरखापत्रबा६
सदरमुकाम खलङ्गामा रहेको महाकाली नगरपालिकाकी नगर उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले केही पुराना कार्यक्रम तथा केही नयाँ कार्यक्रमलाई समेटेर आगामी वर्षको बजेट ल्याउने तयारी गरिरहेको बताइन्। यहाँको दुहुँ गाउँपालिकाले असार ९ गते नीति तथा कार्यक्रम र १० गते बजेट ल्याउने गरी तयारी गरिरहेको उपाध्यक्ष शान्ति बमले जानकारी दिइन्।
अपिहिमाल गाउँपालिकाले पनि बजेट ल्याउने आवश्यक तयारी गरिरहेको छ । असार ५ गते बस्ने कार्यपालिका बैठकले बजेट ल्याउने मिति तय गर्ने उपाध्यक्ष देवकीदेवी बोहोराले जानकारी दिइन्। गाउँपालिकाले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको पनि उनले बताईन्। जिल्लाको मालिकार्जुन गाउँपालिकाले पनि असार १० गते बजेट ल्याउने तयारी गरिरहेको उपाध्यक्ष कल्याणसिंह धामीले जानकारी दिए। -गाेरखापत्रबाट