सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको गन्यापधुरा जोड्ने मुख्य सडक विस्तार

२०८३ असार ६, ०२:३७ खबर संवाददाता

डडेलधुराः प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, ऐतिहासिक महत्व तथा सांस्कृतिक विविधताले भरिपूर्ण गन्यापधुरा गाउँपालिकाको गणेशपुर जोड्ने मुख्य सडक विस्तार भइरहेको छ । 

सङ्घीय संरचना कार्यान्वयनसँगै साबिकका असिग्राम, गणेशपुर, मष्टामाण्डौँ र कैलपालमाण्डौँ गाविसलाई समेटेर स्थापना गरिएको गन्यापधुरा मुकाम–२ को बडाल जोड्ने सडक व्यवस्थित थिएन । साँघुरा ग्रामीण कच्ची सडक बर्सातमा अवरुद्ध हुँदा पालिकावासीले सास्ती खेप्नुका साथै प्रशासनिक काम प्रभावित हुने गरेको थियो । 

गाउँपालिकाले एउटा मुख्य सडकलाई प्राथमिकतामा राखेपछि चालु आर्थिक वर्षमा रडुवा–कलारीमाण्डौँ–गाणेशपुर सडक विस्तारको काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत दिलीप तामाङले जानकारी दिए। उनका अनुसार स्थानीय पूर्वाधार विकास कार्यालयको तीन करोड रुपियाँ बजेटमा यस सडकखण्डको चार किलोमिटर विस्तारको काम भइरहेको छ । 

उनले ठेक्का सम्झौतामार्फत यस सडकखण्ड फराकिलो पार्ने, पर्खाल, नाली निर्माण गर्ने र डडेलधुरा–दिपायल सेतीमार्गको सुरुवात उकालो भागमा करिब पाँच सय मिटर आरसिसी गर्ने काम भइरहेको बताए। सडकको चौडाइ नाली छोडेर पाँच मिटरको हुने छ । वर्षामा पनि पूर्ण रूपमा अवरुद्ध नहुने तथा सेती राजमार्गको कालोपत्रेबाट छोटो दुरीमा पालिका मुकाम पुग्ने भएकाले यस सडकलाई गाउँपालिकाको प्राथमिकतामा रहेको उनले जानदकारी दिए । 

उनका अनुसार यस सडकले पालिका मुकामसँगै मालीगाउँ, कोरगाउँ, चम्सालका आधा दर्जन बस्तीलाई जोडेको छ । १३५.६५ वर्ग किलोमिटर क्षेत्रफल रहेको गाउँपालिकाको जनसङ्ख्या १३ हजार ७२२ छ ।  
 

कमेन्ट लोड गर्नुस