सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउदी अरब जान सिप प्रमाणीकरण अनिवार्य

२०८३ असार ८, ०७:१४ खबर संवाददाता

काठमाडौँः साउदी अरबको नेपालस्थित दूतावासले साउदी अरब जाने नेपाली श्रमिकका लागि ‘सिप प्रमाणीकरण कार्यक्रम’ (एसभिपी) अनिवार्य रूपमा लागु गर्ने स्पष्ट पारेको छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका प्रतिनिधिसँगको भेटमा साउदी अरबका राजदूत फहद मोनाइकिरले यो साउदी सरकारको आधिकारिक नीति भएकाले स्थगित नहुने र आगामी जुलाई १ देखि कार्यान्वयनमा आउने जानकारी दिए।

राजदूत मोनाइकिरका अनुसार सिप प्रमाणीकरणका लागि ५० अमेरिकी डलर (करिब सात हजार पाँच सय नेपाली रुपियाँ) शुल्क तोकिएको छ। दूतावासले यो कार्यक्रम काठमाडौँसँगै लुम्बिनी, जनकपुर, नारायणगढ र महोत्तरीबाट समेत सञ्चालन गर्ने तयारी गरेको छ। यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको विरोधका कारण काठमाडौँको धापासीमा स्थापना गर्न लागिएको स्किल भेरिफिकेसन सेन्टरको काम रोकिएको थियो। 

सङ्घका अध्यक्ष डिकबहादुर खत्रीले व्यवसायीको आपत्ति र सिन्डिकेटको आशङ्का भने यो व्यवस्थाले गरिब श्रमिकमाथि थप आर्थिक भार थोपर्ने र वैदेशिक रोजगारीमा नयाँ सिन्डिकेट खडा गर्ने दाबी गरे। नेपालमा सिप परीक्षणका लागि सिटिइभिटी जस्ता सरकारी निकाय हुँदाहुँदै निजी संस्थालाई एकाधिकार दिनु गलत भएको उनको भनाइ छ। 

अध्यक्ष खत्रीले बायोमेट्रिकका लागि प्रयोग भइरहेको ‘भिएफएस’ प्रणालीमा जस्तै एसभिपीमा पनि अनियमितता हुन सक्ने आशङ्का गरे। भिएफएसमा ७५० रुपियाँ शुल्क तोकिए पनि छिटो सेवा लिन श्रमिक तीन हजार पाँच सय रुपियाँसम्म अतिरिक्त बुझाउन बाध्य भइरहेको उहाँको आरोप छ। साउदीले यो कार्यक्रमलाई ‘बिजनेस टु बिजनेस’ (बिटुबी) सम्झौताका रूपमा अगाडि बढाउन खोजेको भन्दै व्यवसायीले असन्तुष्टि जनाएका छन्। 

दुई देशका सरकारबिच भएको श्रम सम्झौता र अन्तर्राष्ट्रिय श्रम कानुनविपरीत निजी क्षेत्रमार्फत यस्तो कार्यक्रम सञ्चालन गर्नु शङ्कास्पद रहेको सङ्घको ठहर छ। सङ्घले यस विषयमा अध्ययन गरी श्रमिकको हितमा निर्णय लिन र सिन्डिकेट अन्त्य गर्न माग गर्दै प्रधानमन्त्री कार्यालय, श्रम मन्त्रालय र साउदी अरब दूतावासलाई औपचारिक पत्रसमेत पठाएको छ। 

कमेन्ट लोड गर्नुस