कैलालीमा फरार रहेका तीन प्रतिवादी पक्राउ
कैलाली: कैलालीमा विभिन्न मुद्दामा अदालतबाट कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तीन जना प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीका विभिन्न मितिका फैसलाअनुसार सजाय तोकिएका उनीहरूलाई मिति २०८३ असार १५ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा चेक अनादर मुद्दामा २/२ वर्ष कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका–५ निवासी ५८ वर्षीय महेश सिंह धामी र धनगढी उपमहानगरपालिका–२ निवासी ५२ वर्षीय भुपेन्द्र सिंह धामी रहेका छन्।
त्यसैगरी, बैंकिङ कसुर मुद्दामा १ महिना कैद सजाय तथा ७३ हजार रुपैयाँ जरिवाना तोकिएका बझाङको बित्थडचिर गाउँपालिका–७ निवासी ४७ वर्षीय रघुनाथ जोशीलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ।