सुदूर नेपाललाई विश्वसँग जोड्दै

डेंगु संक्रमणका लक्षण र बच्ने उपाय

२०७६ भदौ १९, ०२:५४ खबर संवाददाता

अहिले कैलाली सहितका ४२ जिल्लाहरुमा डेंगुको संक्रमण बढेको छ।  वर्षाको पानी जम्ने डब्बा, टायर, ड्रम, फूलदानी, गमला, ट्याँकी आदिमा डेंगु सार्ने लामखुट्टेले फुल पार्दछ। शहरी क्षेत्रमा यस्ता वस्तु धेरै हुने भएकाले पनि यस्तो लामखुट्टे शहरमा बढी देखिएको डाक्टरहरु बताउँछन्। डेंगु भएपछि उच्च ज्वरो आउँछ। डेंगु विरुद्धको खोप तथा खास उपचार नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै मुख्य उपाय भएको डाक्टरले बताएका छन्। 
स्वस्थ व्यक्तिमा पनि डेंगु हुन सक्छ।

डेंगु एक व्यक्तिबाट अर्को व्यक्तिमा सोझै सर्दैन। यो भाइरसजन्य रोग हो। तर एडिस एजिप्टाइ नामक लामखुटट्ले यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्छ। पोथी लामखुट्टेको टोकाइका कारण यो भाइरस सर्ने डाक्टरले बताएका छन्। तर यो रोग लागिका सबैलाई लक्षण भने देखिंदैन। चार जनामध्ये एक जनालाई मात्रै लक्षण देखिन्छ। त्यसैले स्वस्थ भनिएका व्यक्तिमा पनि डेंगुको जोखिम हुन सक्ने डाक्टरको भनाइ छ। 

डेंगुका लक्षण :-
-उच्च ज्वरो आउनु
-टाउको दुख्नु, पेट दुख्नु
-वाकवाकी लाग्नु
-आँखाको गेडी दुख्नु
-जीउ, जोर्नी दुख्नु
-उच्च ज्वरो आएको ३, ४ दिन पछि रातोरातो बिमिरा आउनु।
 

रोकथामका उपाय
-पानी जम्न सक्ने भाँडाहरु जस्तैैः गमला, फुलदानी खाली गर्ने
-बट्टा, मट्टीतेलका खाली ड्रमहरु, गाडीको टायर घरको वरिपरी नराख्ने।
-राख्नै परे पानी जम्न नदिने।
-पानी जम्मा पारेका ट्याङकी तथा बाल्टीमा एक हप्ताभन्दा बढी समय पानी नराख्ने। राख्नै परे राम्रोसँग बिर्कोले छोपेर राख्ने।
-फुलदानीको पानी कम्तीमा हप्तामा दुई पटक फेर्ने।
-एडिस इजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसोको समयमा पूरा बाहुला भएको वा शरीर पुरै ढाक्ने कपडा लगाउने।
-सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्ने 
-बालबालिकालाई सुताउँदा पनि झुल भित्रै सुताउने
-लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम पनि लगाउने
-घरका झ्याल ढोकामा जाली लगाउने 
-घर वरपर सफा सुग्घर राख्ने, खाल्डाखुल्डी पुर्ने।

डेंगु देखिए के गर्ने ?

-डेंगु रोगको लक्षण देखिए तुरुन्त अस्पताल जानुपर्छ। 
-उच्च ज्वरो आए सिटामोल र झोलिलो पदार्थ खानुपर्छ।
-उच्च ज्वरो आयो भन्दैमा बु्रफिन लगायतका औषधि खानु हुँदैन।
-समयमा नै रगत परीक्षण गराउनुपर्छ।

४० भन्दा बढी जिल्लामा डेंगुको प्रकोप अझै फैलिने सम्भावना रहेको डाक्टरहरु बताउँछन्। साउन महिना यता मात्रै २५ सय जना भन्दा धेरैलाई डेंगुको सक्रंमण भएको ईमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क छ।

कमेन्ट लोड गर्नुस