उकु महल: संरक्षणको पर्खाइमा रहेको दार्चुलाको ऐतिहासिक तथा पुरातात्त्विक धरोहर
मानसिंह धामीः दार्चुलाको उकु महलको चर्चा कालापानीजत्तिकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा हुने गरेको विभिन्न इतिहाससम्बन्धी दस्तावेजहरूले उल्लेख गरेका छन्। विभिन्न इतिहासविद् तथा संस्कृतिविद्हरूले उकु महलको ऐतिहासिक महत्वबारे चर्चा गरे पनि स्थानीय सरकार तथा सम्बन्धित निकायको ध्यान पुग्न नसकेको गुनासो स्थानीयको छ।
कालापानीको विषय निर्वाचनका बेला राजनीतिक बहसको केन्द्र बन्ने गरे पनि उकु महल भने कुनै पनि राजनीतिक दलको प्राथमिकतामा पर्न नसकेको स्थानीयको भनाइ छ। उनीहरू उकु महललाई राजनीतिक एजेन्डाभन्दा माथि उठाएर यसको संरक्षण, अनुसन्धान र पुनर्निर्माणका लागि साझा पहल आवश्यक रहेको बताउँछन्।
दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका–६ स्थित उकु गाउँको सिरानमा रहेको ऐतिहासिक, पुरातात्त्विक तथा प्राचीन महत्व बोकेको उकु महलको भग्नावशेष अहिले संरक्षण र पुनर्निर्माणको पर्खाइमा रहेको छ। महल निर्माण भएको समय यकिन गर्न तथ्यपरक अनुसन्धान आवश्यक भए पनि हालसम्म कुनै सरकारी निकाय, अनुसन्धानकर्ता, इतिहासविद्, संस्कृतिविद् वा राजनीतिक तहबाट यसको व्यवस्थित अध्ययन, संरक्षण, जीर्णोद्धार वा पुनर्निर्माणका लागि ठोस पहल हुन सकेको देखिँदैन।
लेखकले आफू इतिहासविद्, संस्कृतिविद् वा पुरातत्त्वविद् नभए पनि एक सचेत नेपाली नागरिकका रूपमा उकु महलको संरक्षणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले जनश्रुति, प्रत्यक्ष अवलोकन तथा इतिहाससम्बन्धी पुस्तकहरूको अध्ययनका आधारमा यो विषय उठाएको उल्लेख गरेका छन्।
उकु महलको चर्चा गर्दा उकु गाउँको परिचय पनि उत्तिकै महत्वपूर्ण मानिन्छ। मालिकार्जुन गाउँपालिका–६ अन्तर्गत महाकाली नदीको किनारमा रहेको उकु उर्बर फाँट र प्राकृतिक सौन्दर्यले भरिपूर्ण रमणीय गाउँ हो। यहाँ पुग्ने जो–कोहीलाई गाउँको प्राकृतिक सुन्दरता, शान्त वातावरण र हरियालीले आकर्षित गर्ने स्थानीय बताउँछन्।
उकु गाउँमा पाल थरका बासिन्दाको बाहुल्यता रहेको छ। यहाँ धान, मकै, गहुँ, जौँ, भटमास, गहत, मसुरो र मास प्रमुख बालीका रूपमा उत्पादन हुने गरेको छ।
इतिहासका अनुसार अभयपालले डोटी राज्य स्थापना गरी अजयमेरु दरबार निर्माण गरेपछि उकुतर्फ राज्य विस्तार गरेका थिए। कुमाऊँको इतिहास (बद्रीदत्त पाण्डे) मा सन् १२७९ (संवत् १३३६) को उल्लेख गर्दै अभयपालले उकु महल निर्माण गरी आठ खस राजाहरूलाई पराजित गरेपछि मात्रै अस्कोट राज्य स्थापना गरेको उल्लेख गरिएको छ। यस आधारमा अस्कोट विजयभन्दा पहिले नै उकु महल निर्माण भइसकेको मानिन्छ।
मध्यकालीन कत्युरी राजाहरूको शासनकालमा निर्माण भएको मानिने उक्त महल कुनै कारणवश भत्किएर अहिले भग्नावशेषमा परिणत भएको किम्बदन्ती रहेको छ। सुदूरपश्चिम प्रदेशकै महत्वपूर्ण ऐतिहासिक तथा पुरातात्त्विक सम्पदामध्ये एक मानिने उकु महलको वैज्ञानिक अध्ययन, अनुसन्धान, अन्वेषण र उत्खनन गर्न सके दार्चुलाको मात्र नभई नेपालको इतिहासमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास गरिएको छ। साथै, यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना पनि उत्तिकै रहेको स्थानीयको भनाइ छ।
उकु क्षेत्रमा ठूलो संख्यामा कलात्मक शिलाहरू छरिएका छन्। देवी–देवताका मूर्ति, आमलक, शिखर गजुरका अर्धभाग, ढुंगेधारा, नाग, बसाह, सिंह, चक्रशिला लगायतका विभिन्न आकृति ढुंगामा कुँदिएका अवशेष अहिले पनि देख्न सकिन्छ। यी पुरातात्त्विक अवशेषहरूले उकु महलको ऐतिहासिक महत्वलाई थप पुष्टि गर्ने जानकारहरूको भनाइ छ।
हाल प्रचारप्रसार, अनुसन्धान र संरक्षणको अभावमा उकु महल ओझेलमा पर्दै गएको छ। पुरानो दरबारको भग्नावशेष रहेको स्थानमा अध्ययन र उत्खनन हुन नसक्दा यसको अस्तित्व नै संकटमा परेको स्थानीयको चिन्ता छ। संरक्षण र जगेर्नाको अभावमा ऐतिहासिक सम्पदा क्रमशः नष्ट हुँदै जाने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ।
पाल राजवंश, कत्युरी शासन र उकु महलको ऐतिहासिक सम्बन्ध
इतिहासका अनुसार उकु महल मध्यकालीन कत्युरी राजाहरूको शासनकालमा महत्वपूर्ण प्रशासनिक तथा सांस्कृतिक केन्द्रका रूपमा विकास भएको थियो। कत्युरी राज्य कमजोर बन्दै गएपछि १२ औँ शताब्दीतिर पाल राजाहरूले अस्कोट, अजयमेरुकोट, दिपालयकोट लगायतका क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरेको इतिहासमा उल्लेख पाइन्छ।
इतिहासका जानकारहरूका अनुसार सर्वप्रथम रजबार भारती पालले उकु क्षेत्रमा दरबार निर्माण गरी शासन सञ्चालन गरेका थिए। उकु महलको भग्नावशेष क्षेत्रमा अहिले पनि विभिन्न शिलालेख लेखिएका चट्टान, पुराना संरचनाका अवशेष तथा मूर्तिहरू भेटिन्छन्। कतिपय इतिहासकारका अनुसार नाग पाल राजाले दरबार परिसरमा मन्दिर निर्माण गर्ने उद्देश्यले विभिन्न देवी–देवताका मूर्ति तथा शिलालेखहरू उक्त क्षेत्रमा संकलन गरेका थिए। हाल त्यहाँ भेटिने सूर्यनारायणका मूर्ति, शिलालेख तथा अन्य कलात्मक ढुंगाहरू त्यसैको प्रमाण हुन सक्ने अनुमान गरिएको छ।
उकु महल परिसरमा रहेका कोटघर, देवस्थल, बलिया किल्ला, ढुंगामा कुँदिएका देवी–देवताका आकृति तथा अन्य कलात्मक संरचनाले यो क्षेत्र कुनै समय सम्पन्न र शक्तिशाली राज्यको केन्द्र रहेको पुष्टि गर्ने इतिहासविद्हरूको भनाइ छ। दार्चुला जिल्ला मध्यकालीन शक्तिशाली कत्युरी राज्य र सभ्यताको महत्वपूर्ण हिस्सा रहेको ऐतिहासिक दस्तावेजहरूले उल्लेख गरेका छन्।
उकुको ऐतिहासिक सम्बन्ध सीमावर्ती भारतको अस्कोटसँग पनि जोडिएको छ। अस्कोटको इतिहासअनुसार सन् १२७९ मा अभय पाल रणचुलाहाटस्थित कत्युरी राजधानीबाट अस्कोट पुगेका थिए। उनले वरपर रहेका अस्सीवटा कोटलाई एकीकृत गरी अस्कोट राज्य स्थापना गरेको इतिहासमा उल्लेख गरिएको छ।
इतिहासमा निरै पालको विशेष चर्चा गरिएको पाइन्छ। निरै पालका अभिलेख नेपालका डोटी, डडेल्धुरा तथा भारतको पिथौरागढ जिल्लाको डिडिहाट र अल्मोडामा समेत भेटिएका बताइन्छ। नेपालमा प्राप्त अभिलेखअनुसार निरै पालको शासनकाल सन् १३५२ देखि १३६२ सम्म रहेको उल्लेख गरिएको छ भने अल्मोडामा सन् १३५४ को निरै पाल लेखिएको शिलालेख भेटिएको इतिहासका जानकारहरू बताउँछन्।
यी सबै अभिलेख र ऐतिहासिक कालक्रम एक–अर्कासँग मेल खाने भएकाले उकु भग्नावशेषको इतिहास निरै पालको शासनसँग जोडिएको हुन सक्ने अनुमान गरिएको छ। निरै पाललाई उकु–अस्कोटका शक्तिशाली राजा मानिएको छ। विभिन्न स्थानमा भेटिएका अभिलेखहरूले पनि उनी प्रभावशाली शासक रहेको संकेत गर्ने इतिहासविद्हरूको भनाइ छ। महाकाली नदी किनारमा रहेको उकुलाई उनको शासनको प्रमुख केन्द्र मानिने भएकाले यस क्षेत्रको पुरातात्त्विक महत्व अझ बढेको बताइन्छ। इतिहासका कालक्रमहरूले निरै पाल, भारती पालभन्दा अघिका शासक रहेको संकेत पनि गरेका छन्।
उकुसँगै सलेती गाउँ पनि ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिन्छ। सलेतीमा औतालेकी हंशराज भट्टका सन्तान औतालेकी धामीहरूको बाहुल्यता रहेको छ। केही इतिहासकारले पश्चिम नेपालको पहिलो राजधानी उकु रहेको दाबी गर्दै इतिहासमा सिंजा सभ्यताभन्दा उकु सभ्यताको चर्चा हुनुपर्ने तर्क समेत गरेका छन्। कत्युर, कुमाऊँ र गढवाल क्षेत्रबाट बसाइँसराइ, त्यहाँको संस्कृति, भेषभूषा र चालचलनको प्रभाव अहिले पनि उकु क्षेत्रमा देख्न सकिने स्थानीयको भनाइ छ।
अनुसन्धान, संरक्षण र पुनर्निर्माणको आवश्यकता
उकुको इतिहाससम्बन्धी विभिन्न लेखमा उल्लेख भएअनुसार उकुकोटभित्र रहेको हरिहर मन्दिर नाग पालका तीन रानीहरूले निर्माण गराएको विश्वास गरिन्छ। केही इतिहासकारका अनुसार नाग मल्ल डोटीका राजा थिए र उनको राजधानी हालको डडेल्धुरा जिल्लाको अजयमेरुकोटमा रहेको थियो। नाग मल्लको शासनकाल करिब सन् १३८४ देखि १३९३ सम्म रहेको उल्लेख पाइन्छ। यस आधारमा हरिहर मन्दिर पनि सोही अवधिमा निर्माण भएको अनुमान गरिए पनि यसको यकिन तिथि भने फेला परेको छैन।
अर्कोतर्फ, केही भारतीय शोधकर्ताहरूले भने उकु राज्य अभय पालले नभई नाग मल्लले स्थापना गरेको दाबी गरेका छन्। उनीहरूले सन् १२३८ को उकुको शिलालेखलाई यसको आधार मानेका छन्। यस विषयमा थप तथ्यपरक अध्ययन र अनुसन्धान आवश्यक रहेको इतिहासविद्हरूको भनाइ छ।
इतिहासका कतिपय स्रोतमा १६औँ शताब्दीमा पाल राजाहरूले दरबार क्षेत्रको विस्तार गरेको उल्लेख पाइन्छ। अहिले पनि त्यस क्षेत्रमा विभिन्न आकृतिमा कुँदिएका मूर्तिहरू, शिलालेख, भग्नावशेष तथा कलात्मक ढुंगाहरू देख्न सकिन्छ। तर व्यवस्थित उत्खनन, अनुसन्धान र संरक्षण नीति नहुँदा यी सम्पदाहरू क्रमशः नष्ट हुँदै गएका छन्।
स्थानीयका अनुसार उकु क्षेत्रमा सयौँ प्रकारका मूर्ति, शिलालेख र पुरातात्त्विक अवशेषहरू रहेका छन्। यिनको वैज्ञानिक अध्ययन, संरक्षण र अभिलेखीकरण गर्न सके दार्चुलाको मात्र नभई नेपालको इतिहासमा नयाँ तथ्य उजागर हुन सक्ने विश्वास गरिएको छ।
उकु महलको संरक्षण, पुनर्निर्माण र प्रवर्द्धन गर्न सके यो स्थल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना रहेको स्थानीयको विश्वास छ। त्यसका लागि पुरातत्त्व विभाग, संस्कृति मन्त्रालय, स्थानीय सरकार तथा सम्बन्धित निकायले संयुक्त रूपमा विस्तृत अध्ययन, उत्खनन, संरक्षण र पुनर्निर्माणको काम अघि बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ।
लेख तयार गर्ने क्रममा उकु महल परिसरमा पुगेर तस्बिर तथा आवश्यक जानकारी उपलब्ध गराएकोमा दिवाकर जोशीप्रति लेखकले आभार व्यक्त गरेका छन्। साथै, ऐतिहासिक जानकारी उपलब्ध गराएर लेख तयार गर्न प्रेरणा दिने आफ्ना पिताप्रति तथा आवश्यक वातावरण मिलाइदिने अर्धाङ्गिनी पार्वती देवी धामीप्रति पनि धन्यवाद व्यक्त गरिएको छ।
उकु महल दार्चुलाको मात्र नभई नेपालको महत्वपूर्ण ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा भएकाले यसको अस्तित्व जोगाउन अब ढिलाइ नगरी अध्ययन, उत्खनन, संरक्षण र पुनर्निर्माणका लागि राज्यले प्राथमिकताका साथ पहल गर्नुपर्ने आवाज स्थानीय स्तरबाट उठ्दै आएको छ।
मानसिंह धामी (औल्लेकी)
उपप्राध्यापकः कैलाली बहुमुखी क्याम्पस, धनगढी
मालिकार्जुन गाउँपालिका हुनैनाथ गाेठ्युडी (काेटबुङ्गा)
दार्चुला