कञ्चनपुरमा मिठाई पसल अनुगमन, दुई पसल सिल
महेन्द्रनगरः कञ्चनपुर जिल्लामा खाद्य परिकारमा अखाद्य वस्तुको प्रयोग बढ्दै गएको उपभोक्ताको गुनासोपछि सम्बन्धित निकायले संयुक्त रूपमा होटल, मिठाई पसल, फास्ट फुड तथा उद्योगहरूको अनुगमन गरेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले जिल्लाका विभिन्न स्थानमा अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिए। उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै नियमित अनुगमनलाई कडाइ गरिएको उनले बताए।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी, कैलालीका प्रमुख हरेराम प्रधानका अनुसार १५ वटा पसल तथा उद्योगमा अनुगमन गरिएको हो। अनुगमनका क्रममा महेन्द्रनगरको गल्ली नम्बर–१ मा रहेको जय प्रकाश गुप्ताले सञ्चालन गरेको शिवानी स्वीट हाउसमा खाद्य स्वच्छताको दृष्टिकोणले अत्यधिक लापरबाही देखिएको र मिठाईमा किरा फेला परेपछि पसल नै सिल गरिएको छ।
त्यसैगरी, महेन्द्रनगरस्थित भट्ट नास्ता पसलमा खानेकुरामा अत्यधिक रङ प्रयोग गरिएको पाइएपछि करिब ६० केजी खानेकुरा नष्ट गरिएको प्रधानले बताए।
अनुगमनकै क्रममा महेन्द्रनगरको गल्ली नम्बर–१ स्थित गुड्डु स्वीट हाउसमा सरसफाइको अवस्था कमजोर तथा फोहोर भेटिएपछि एक महिनाभित्र सुधार गर्न निर्देशन दिइएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने व्यवसायीमाथि आगामी दिनमा अझ कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।