सुदूर नेपाललाई विश्वसँग जोड्दै

मालपोत कार्यालय धनगढीमा सेवा अव्यवस्थित, ढीलासुस्तीले सेवाग्राही सास्तीमा

२०८३ साउन १, ०२:४५ लक्ष्मण ढुङ्गाल

धनगढी: कैलालीको भूमि सुधार तथा मालपोत कार्यालय, धनगढी मा सहज सेवा नपाउँदा सेवाग्राही मारमा परेका छन्। जिल्लाका विभिन्न स्थानीय तहबाट जग्गा पास, नामसारी, धितो, श्रेस्ता सच्याउनेलगायतका सेवा लिन आउने नागरिकले सर्भर समस्या, सेवा ढिलाइ र पटक–पटक कार्यालय धाउनुपर्ने बाध्यताका कारण सास्ती खेप्नुपरेको गुनासो गरेका छन्।

बिहीबार कार्यालयको सर्भर डाउन हुँदा केही घण्टासम्म सेवा पूर्ण रूपमा प्रभावित भएको थियो। टाढा–टाढाबाट सेवा लिन आएका सेवाग्राहीहरू घण्टौँसम्म कार्यालय परिसरमै कुरेर बस्न बाध्य भएका थिए। सेवा अवरुद्ध भएपछि केही समय कार्यालयमा तनावको अवस्था समेत सिर्जना भएको प्रत्यक्षदर्शीले बताएका छन्।

सेवाग्राहीका अनुसार एउटा काम सम्पन्न गर्न पनि हप्तौँसम्म कार्यालय धाउनुपर्ने अवस्था छ। विशेषगरी दुर्गम क्षेत्रबाट आउने, आर्थिक अवस्था कमजोर भएका नागरिक तथा ज्येष्ठ नागरिकलाई यस्तो ढिलासुस्तीले थप समस्या हुने गरेको उनीहरूको भनाइ छ। यातायात, खानबस्न र अन्य खर्चसमेत बढ्दा सामान्य सेवा लिन पनि ठूलो आर्थिक भार पर्ने उनीहरू बताउँछन्।

सेवाग्राहीहरूले सरकार परिवर्तन भए पनि सरकारी कार्यालयको सेवाप्रवाहमा अपेक्षित सुधार नआएको गुनासो गरेका छन्। सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने उनीहरूको माग छ।

यता, भूमि सुधार तथा मालपोत कार्यालय धनगढीका प्रमुख लक्ष्मणबहादुर कठायत ले भने कार्यालयले नियमित रूपमा सेवा प्रवाह गरिरहेको दाबी गरेका छन्। बिहीबार देखिएको सर्भर समस्याका कारण सेवा प्रभावित भए पनि सेवाग्राहीलाई सकेसम्म सेवा दिन कर्मचारीहरूले राति ११ बजेसम्म काम गरेको उनले जानकारी दिए।

सरकारी सेवा प्रभावकारी, छिटोछरितो र नागरिकमैत्री बनाउने सरकारी प्रतिबद्धता दोहोरिँदै आए पनि मालपोत कार्यालय धनगढीमा देखिएको सेवा ढिलाइ र प्राविधिक समस्याले सेवाग्राहीलाई अझै पनि सास्ती भोग्न बाध्य बनाएको देखिएको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस