सुदूर नेपाललाई विश्वसँग जोड्दै

डाक्टर केसीलाई अस्पताल भर्ना गरियो

२०८३ साउन ९, १२:५८ नारायण अवस्थी

धनगढीः धनगढीमा बिहीवारदेखि २४औँ अनशनमा रहेका प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या देखापरेपछि अस्पताल भर्ना गरिएको छ।

धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालामा अनशन बसेका डाक्टर केसीको स्वास्थ्यमा समस्या भएपछि शनिवार बिहान ११ बजे अस्पताल भर्ना गरिएको हो।

स्वास्थ्य परीक्षणका क्रममा डाक्टर केसीको रक्तचाप ११०/९० र रगतमा सुगरको मात्रा ५० मापन भएको चिकित्सकले बताएका छन्। सुगरको मात्रा अत्यन्त न्यून रहेकाले स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको भन्दै चिकित्सकले तत्काल सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गर्न सुझाव दिएका थिए।

चिकित्सकहरुको सुझावअनुसार नै उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालको एक नम्बर आइसियूको शय्या नम्बर २ मा भर्ना गरिएको हो।

बिहीबारदेखि पाँचबुँदे माग राखेर सत्याग्रहमा बसेका डाक्टर केसीको स्वास्थ्य निरन्तर कमजोर बन्दै गएकाले चिकित्सकको निगरानीमा राख्न सेती प्रादेशिक अस्पताल लगिएको हो।

यता डक्टर केसीको अनशनले गेटा मेडिकल विश्वविद्यालय प्रभावित हुने भन्दै विरोध सुरू भएको छ। गेटा मेडिकल विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले शनिवार बिहान धनगढीमा डाक्टर केसी विरुद्ध प्रदर्शन गरेको छ।

डाक्टर केसीले आफ्नो पाँचबुँदे मागसँगै शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न माफिया र तिनका मतियारहरूको स्वार्थपूर्ति गर्न हतार-हतार जबरजस्ती ऐन थोपरिएको दाबी गरेका छन्। केसीले मेडिकल विश्वविद्यालयका लागि त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान या बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपयुक्त हुने धारणा प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन्।

केसीले सरकारले नियुक्त गरेका उपकुलपति र रजिस्टारकोसमेत राजीनामा मागेकाले एमबिबिएस अध्यापनको मुखैमा गेटाको विषय उठान गरेको भन्दै सरोकारवाला स्थानीयले आपत्ति जनाएका छन्।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस