त्रिनगर भन्सारमा कडाइ, ५ सय रुपैयाँभन्दा बढीका सामानमा कर लागेपछि बनगाउँ जाने नेपाली घटे
धनगढी: कैलालीको त्रिनगर भन्सार नाकामा सशस्त्र प्रहरी र भन्सार कार्यालयले निगरानी तथा जाँचमा कडाइ गरेपछि भारतीय बजार बनगाउँ जाने नेपालीको संख्या उल्लेख्य रूपमा घटेको छ। ५०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार महसुल तिर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरिएपछि सीमावर्ती नाकामा जाँच थप कडा बनाइएको हो।
दैनिक सयौंको संख्यामा घरायसी उपभोगका सामान खरिद गर्न बनगाउँ जाने नेपालीलाई अहिले ५०० रुपैयाँभन्दा बढी मूल्यका सामान नल्याउन सशस्त्र प्रहरीले सचेत गराउँदै आएको छ। सोभन्दा बढी मूल्यका सामान ल्याएमा भन्सार कर तिर्नुपर्ने भएकाले धेरै सर्वसाधारण सीमामै रोकिएका वा सामान नल्याई फर्किन बाध्य भएका छन्।
धनगढीसहित कैलालीका विभिन्न स्थानका बासिन्दा दैनिक उपभोगका सामग्री खरिदका लागि भारतीय बजार जाने गरेका छन्। करिब तीन महिनाअघि नेपाली बजारलाई संरक्षण गर्ने उद्देश्यले १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा पनि भन्सार महसुल लाग्ने व्यवस्था गरिएको थियो। तर त्यसप्रति व्यापक जनगुनासो आएपछि केही सातामै उक्त निर्णय परिमार्जन गर्दै ५०० रुपैयाँसम्मका सामान करबिना ल्याउन दिने व्यवस्था लागू गरिएको थियो।
तर, नयाँ व्यवस्था लागू भएको विषयमा धेरै सर्वसाधारण अनभिज्ञ रहेकाले सीमामा पुगेर मात्रै नियमबारे जानकारी पाउने र फर्किनुपर्ने अवस्था देखिएको छ।
हाल त्रिनगर नाकामा ल्याइने सामानको कडाइका साथ जाँच भइरहेको छ। सुरक्षा निकायका अनुसार यसले अवैध रूपमा सामान भित्र्याउने गतिविधि घटेको छ भने नेपाली बजारमा समेत सकारात्मक प्रभाव देखिन थालेको छ।
स्थानीय सर्वसाधारणले भने सरकारले या त सीमा नाकाबाट हुने खुद्रा सामान आयात पूर्ण रूपमा रोक्नुपर्ने, अन्यथा उपभोगका लागि निश्चित सीमाभन्दा बढी मूल्यका सामान ल्याउन सहज व्यवस्था गर्नुपर्ने माग गरेका छन्।
कडाइ सुरु भएपछि बनगाउँ जाने नेपालीको संख्या पनि ह्वात्तै घटेको छ। पहिले दैनिक सयौं नेपाली पुग्ने उक्त बजारमा अहिले फाट्टफुट्ट मात्र नेपाली ग्राहक देखिन थालेका छन्।