सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागूऔषधसम्बन्धी

२०८३ साउन १२, ०३:०५ खबर संवाददाता

कैलालीः धनगढीस्थित विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि आउने अधिकांश नमूना लागूऔषधसँग सम्बन्धित रहेको पाइएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा प्रयोशालामा परीक्षण गरिएका कुल एक हजार ७९ नमूनामध्ये एक हजार ३३ अर्थात् ९५ दशमलव सात प्रतिशत केमिस्ट्री तथा नार्कोटिक्स (लागूऔषध) सम्बन्धी छन् । प्राप्त विवरणअनुसार एक वर्षमा एक हजार ९४ नमूना परीक्षण सम्पन्न भएका थिए । तीमध्ये केमिस्ट्री तथा नार्कोटिक्सका एक हजार ३७ नमूना रहेको कार्यालय प्रमुख वीरेन्द्र चौधरीले जानकारी दिए ।

यसैगरी विवादित प्रलेखसम्बन्धी ४१ केस प्राप्त भई ४५ परीक्षण, डिएनएसम्बन्धी तीन केस प्राप्त भई नौ वटा नमूना परीक्षण तथा बायोलोजी/सिरोलोजी तथा वन्यजन्तु शाखामा दुई केस प्राप्त भई तीन नमूना परीक्षण सम्पन्न भएका छन् ।

आर्थिक वर्षको अन्तिम अर्थात् असार महिनामा मात्रै ९१ नयाँ केसमा एक सय नौ नमूना परीक्षण गरिएका छन् । तीमध्ये ८९ केसका एक सय चार नमूना लागुऔषधसम्बन्धी रहेका छन् । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको आव २०८१/८२ को वार्षिक प्रतिवेदनले पनि धनगढी शाखामा लागूऔषधसम्बन्धी परीक्षणको चाप उच्च रहेको देखाएको छ । गत आर्थिक वर्षमा शाखामा एक हजार ३ सय ३६ केसका तीन हजार ३ सय ८० नमूना प्राप्त भएका थिए । तीमध्ये एक हजार २६९ केस (करिब ९५ प्रतिशत) लागूऔषधसम्बन्धी, ३१ बायोलोजी तथा डिएनए र ३६ विवादित प्रलेखसम्बन्धी थिए ।

प्रतिवेदनअनुसार कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिमका जिल्ला मात्र नभई कर्णाली र लुम्बिनी प्रदेशबाट समेत लागुऔषधका नमूना परीक्षणका लागि धनगढी शाखामा आउने गरेका छन् ।

प्रयोगशालाले लागूऔषध, डिएनए, जैविक नमूना तथा विवादित कागजातको वैज्ञानिक परीक्षण गरी प्रहरी, अदालत तथा अन्य अनुसन्धान निकायलाई प्रमाणमा आधारित अनुसन्धान र न्याय सम्पादनमा सहयोग पुर्‍याउँदै आएको कार्यालय प्रमुख चौधरीले बताए । लागूऔषध कारोबार र ओसारपसारका घटनामा वैज्ञानिक प्रमाणको महत्व बढ्दै जाँदा प्रयोगशालामा आउने नमूनाको सङ्ख्या पनि निरन्तर बढिरहेको उनको भनाइ छ ।

“प्रयोगशालामा आउने अधिकांश केसहरु लागुऔषधका रहेका छन् भने ती केस प्रहरीमार्फत आउँछन् । प्रयोगशाला विस्तारपछि सुदूरपश्चिममा लागुऔषध नियन्त्रण, अनुसन्धान र अभियोजनका लागि वैज्ञानिक प्रमाण उपलब्ध गराउन प्रयोगशालाको भूमिका निरन्तर बढ्दै गएको छ,” चौधरीले भने ।

प्रयोगशालाले आव २०८१/८२ देखि डिएनए परीक्षण सेवासमेत दिइरहेको छ । यसबाट पितृत्व तथा जैविक नाता निर्धारण, व्यक्ति पहिचान, वन्यजन्तु अपराध र अन्य जटिल घटनाको वैज्ञानिक विश्लेषण गर्न सहज भएको छ ।

सरकारको हरेक प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने नीतिअनुसार आव ०७६/७७ को अन्त्यतिर धनगढीमा शाखा कार्यालय विस्तार भई आव २०७७/७८ देखि कार्यारम्भ भएको थियो । यसले नमुना परीक्षणका लागि काठमाडौँ पठाउनुपर्ने बाध्यताको अन्त्य भई लागत र समयको बचत हुनुका साथै न्यायसम्पादनमा समेत टेवा पुगेको जनाइएको छ ।

कमेन्ट लोड गर्नुस