कैलालीमा नसर्ने रोगको प्रकोप बढ्दाे, उच्च रक्तचापका १ लाख २३ हजार भन्दा बढी बिरामी
धनगढी: कैलालीमा सर्ने रोगको तुलनामा नसर्ने रोगको प्रकोप उच्च रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा उच्च रक्तचाप, मधुमेह, फोक्सो तथा मुटुसम्बन्धी रोगका बिरामीको संख्या बढ्दै गएको छ।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरका अनुसार जिल्लामा करिब १ लाख २३ हजार ९ सय ८० जनामा उच्च रक्तचाप रहेको अनुमान गरिएको छ। तर, तीमध्ये करिब ४० देखि ४५ हजार जनाले मात्रै नियमित स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिने गरेका छन्।
त्यस्तै, जिल्लामा करिब ३० हजार जनामा मधुमेह र ४८ हजार जनामा फोक्सोसम्बन्धी समस्या रहेको तथ्यांक रहेको कुँवरले जानकारी दिए। उनका अनुसार कतिपय नागरिकलाई आफूलाई रोग लागेको जानकारी नै नभएको र जानकारी भएका कतिपयले पनि नियमित स्वास्थ्य जाँच तथा उपचार नगर्ने गरेका छन्।
‘कतिपयले रोगका बारेमा जानकारी नपाएर रोग सहेर बसेका छन्,’ कुँवरले भने, ‘कतिपयले रोग छ भन्ने थाहा पाएर पनि नियमित स्वास्थ्य जाँच तथा स्वास्थ्य सेवा लिने गरेका छैनन्।’
उनका अनुसार नसर्ने रोगमध्ये मुटुसम्बन्धी रोग, क्यान्सर, मधुमेह तथा दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोगको प्रकोप बढी देखिएको छ।
कुँवरले नसर्ने रोग बढ्नुमा मदिरा तथा सुर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थ तथा अव्यवस्थित खानपान र शारीरिक निष्क्रियता प्रमुख कारण रहेको बताए। यस्ता रोगबाट बच्न धूम्रपान तथा मदिराको सेवनबाट टाढा रहनुका साथै नियमित शारीरिक गतिविधि बढाउन र खानपानमा सुधार गर्नुपर्ने उनको भनाइ छ।
नेपालमा मृत्यु हुने प्रत्येक १०० जनामध्ये करिब ७१ जनाको मृत्यु नसर्ने रोगका कारण हुने गरेको उनले जानकारी दिए।
नसर्ने रोगको पहिचान, रोकथाम तथा उपचारका लागि तीनै तहका सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। महिलामा हुने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको स्क्रिनिङका साथै पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप कार्यक्रमसमेत सञ्चालन भइरहेको कुँवरले बताए।
उनले नागरिकलाई समयमै स्वास्थ्य परीक्षण गराउन, नियमित शारीरिक गतिविधि गर्न र खानपानमा सुधार ल्याउन आग्रह गरेका छन्।