दार्चुला अस्पताल भवन निर्माणमा ढिलाइप्रति मन्त्री लम्सालको असन्तुष्टि, ठेक्का तोड्न निर्देशन
दार्चुलाः निर्माणाधीन दार्चुला जिल्ला अस्पताल भवनको निर्माण कार्यमा भइरहेको ढिलाइप्रति भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कडा असन्तुष्टि जनाएका छन्। उनले निर्धारित समयभित्र निर्माण सम्पन्न नगर्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।
जिल्ला अस्पतालको निर्माणाधीन भवनको स्थलगत निरीक्षण गरी निर्माणको अवस्थाबारे जानकारी लिएपछि मन्त्री लम्सालले निर्माण व्यवसायीको लापरबाहीका कारण काममा अनावश्यक ढिलाइ भएको बताएका हुन्। उनले अब थप समय कुर्न नसकिने भन्दै कानुनबमोजिम कारबाही अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
मन्त्री लम्सालले ठेक्का सम्झौता तोड्नुका साथै निर्माण व्यवसायीलाई सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुनअनुसार कालोसूचीमा राख्न आवश्यक प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका छन्।
अस्पताल भवन निर्माणमा भइरहेको ढिलाइले स्वास्थ्य सेवा प्रवाहमा समेत असर परेको भन्दै उनले निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित कार्यालय र सरोकारवाला निकायलाई निर्देशन दिए।
मन्त्रीको निर्देशनपछि निर्माण व्यवसायीमाथि ठेक्का सम्झौता तथा सार्वजनिक खरिदसम्बन्धी कानुनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने भएको छ। भवन निर्माणको काम समयमै सम्पन्न गराउन आवश्यक प्रशासनिक तथा कानुनी प्रक्रिया तत्काल अघि बढाइने सम्बन्धित पक्षले जनाएको छ।