सुदूर नेपाललाई विश्वसँग जोड्दै

रसुवा बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज इजरायलद्वारा ६ लाख ३९ हजार सहयोग

२०८३ भदौ १७, ०५:१६ खबर संवाददाता

धनगढीः रसुवा जिल्लामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सुदूरपश्चिमेली नेपाली समाज इजरायलले ६ लाख ३९ हजार ६ सय ९६ रुपैयाँ सहयोग गरेको छ।

समाजका पदाधिकारी, जिल्ला संयोजक, सल्लाहकार, सदस्य तथा शुभेच्छुकबाट संकलित रकम र संस्थाको कोषबाट उक्त सहयोग गरिएको हो।

समाजका अनुसार व्यक्तिगत रूपमा ३ लाख ३९ हजार ६ सय ९६ रुपैयाँ सहयोग संकलन भएको छ। त्यस्तै, रसुवा बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख रुपैयाँ जम्मा गरिएको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको ३ लाख रुपैयाँमध्ये १ लाख ९२ हजार ७ सय ८० रुपैयाँ संस्थाको कोषबाट र १ लाख ७ हजार २ सय २० रुपैयाँ विभिन्न सहयोगीबाट संकलन गरिएको समाजले जनाएको छ।

समाजले विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै बेपत्ता भएकाहरूको सकुशल उद्धार र प्रभावित नागरिकको जीवन छिट्टै सामान्य अवस्थामा फर्कियोस् भन्ने कामना गरेको छ।

समाजले विपद्को समयमा सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, सदस्य तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै मानवीय सहयोग र एकताका लागि सबैलाई आह्वानसमेत गरेको छ।
 

कमेन्ट लोड गर्नुस