सुदूर नेपाललाई विश्वसँग जोड्दै

रसुवा बाढीपीडितका लागि कांग्रेस सुदूरपश्चिम संसदीय दलद्वारा ३ लाख ६१ हजार सहयोग

२०८३ भदौ २६, ०४:०४ खबर संवाददाता

कैलाली: नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले रसुवाको भोटेकोसी बाढीबाट प्रभावित नागरिकका लागि पूर्वघोषित आर्थिक सहायता रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।

संसदीय दलले शुक्रबार ३ लाख ६१ हजार ६ सय ६७ रुपैयाँ कोषमा जम्मा गरेको हो। यसअघि भाद्र १२ गते बसेको संसदीय दलको बैठकले भाद्र १० गते रसुवाको भोटेकोसीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि मानवीय सहायता तथा राहतस्वरूप आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो।

संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले एक महिनाको पारिश्रमिक र संसदीय दलका अन्य प्रदेशसभा सदस्यले १० दिनको पारिश्रमिक बराबरको रकम सहयोगस्वरूप प्रदान गरेका हुन्।

यसैबीच, शुक्रबार संसदीय दलका नेता शाहको अध्यक्षतामा बसेको बैठकले भोटेकोसी बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। बैठकले विपद्बाट प्रभावित परिवारप्रति दुःख तथा समवेदना प्रकट गर्दै पीडितको राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यक्रमलाई थप प्रभावकारी रूपमा निरन्तरता दिन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।
 

कमेन्ट लोड गर्नुस